‘रावायण’मा प्रमोद अग्रहरीको नयाँ अवतार कस्तो होला ?



काठमाडौं। कलाकार प्रमोद अग्रहरीले आगामी शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रावायण’ मा फरक अवतारमा देखिनेछन्। निर्देशक सुदर्शन थापाको यो चलचित्रमा प्रमोद ‘आलम’ नामक मुस्लिम पात्रको भूमिकामा पर्दामा आउने तयारीमा छन्। प्रमोद र सुदर्शनको यो दोस्रो सहकार्य हो, यसअघि उनीहरू चलचित्र ‘चंखे शंखे पंखे’ मा सँगै काम गरिसकेका छन्।

प्रमोदले यस चलचित्रमा सुरुमा ‘काल्का’ नामक पात्रको लागि सम्झौता गरेका थिए। तर, चलचित्र निर्माणको क्रममा निर्देशक सुदर्शन थापाले उनीसँग फरक भूमिका निभाउन आग्रह गरे। “सुरुमा म ‘काल्का’ को भूमिका गर्न तयार भएको थिएँ। तर पछि निर्देशकले मसँग ‘आलम’को भूमिका गर्न प्रस्ताव राख्नुभयो, किनकि त्यो पात्रका लागि उहाँले अरू उपयुक्त कलाकार भेट्नुभएन। मैले पनि यो चुनौतीलाई स्वीकारेँ,” प्रमोदले सम्झे।

प्रमोदले कुनै पनि भूमिका सशक्त बनाउने कुरामा विश्वास गर्छन्, चाहे त्यो ठूलो होस् वा सानो। “मलाई भूमिका सशक्त बनाउने जिम्मेवारी महत्त्वपूर्ण लाग्छ। पात्रले समाजमा के भन्न खोजेको छ र निर्देशकले त्यसलाई पर्दामा कसरी प्रस्तुत गर्नुभएको छ भन्ने कुरा मुख्य हो,” उनले भने।

प्रमोद मधेसी भूमिकामा धेरैपटक देखिइसकेका छन्, तर उनी पहाडी वा हिमाली चरित्रमा देखिन चाहन्छन्। “तराईका भूमिकामा धेरै विविधता प्रस्तुत गरेको छु, तर मलाई पहाड र हिमालको चरित्रमा काम गर्न मन छ। तर, निर्देशकहरूले त्यस्तो जोखिम लिन चाहनुहुन्छ जस्तो लाग्दैन,” प्रमोदले थपे।

उनले यस पटकको भूमिका दर्शकहरूका लागि फरक र प्रभावकारी हुने आशा व्यक्त गरेका छन्। ‘रावायण’ चलचित्रमा प्रमोदको नयाँ अवतारको लागि दर्शकहरूले प्रतिक्षा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu