चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने, हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका



काठमाडौं। अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ। यो चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्नेछन्।

चलचित्रको पटकथा र संवाद हरिवंश आचार्यले लेखेका हुन्। बुधवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरिएको यो चलचित्रको अवधारणा हरिवंशले नै सिर्जना गरेका हुन्। उनले यो आइडिया सरोज ओलीलाई सुनाएपछि ओलीले चलचित्र निर्माणको जिम्मा लिन तयार भएका थिए। “मलाई यो कन्सेप्ट धेरै मन पर्‍यो, र यसलाई चलचित्रको रूपमा ल्याउँदा उत्कृष्ट हुनेछ भन्नेमा विश्वास छ,” आचार्यले बताए।

निर्माता सरोज ओलीका अनुसार, यो उनको पहिलो चलचित्र निर्माण अनुभव हो। उनले भने, “मैले लामो समयदेखि कला क्षेत्रमा काम गरिरहेको छु, तर चलचित्र बनाउनको लागि राम्रो कथा पर्खिरहेको थिएँ। हरिवंश दाइले यो कन्सेप्ट सुनाएपछि म चलचित्र निर्माण गर्न तयार भएँ।”

अभिनेता प्रकाश सपुतले सानैदेखि टेलिभिजनमा हेर्दै आएका हरिवंश आचार्यसँग चलचित्रमा काम गर्न पाउँदा गर्व लागेको बताए। चलचित्रको बाँकी कलाकार र प्राविधिक टिमको घोषणा हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu