सार्क फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘प्रसाद’ र ‘बुलबुल’ पुनः प्रदर्शन गरिने



काठमाडौं। यस वर्षको सार्क फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र ‘प्रसाद’ र ‘बुलबुल’ पुनः प्रदर्शन गरिने भएको छ। नेपालमा व्यापारिक र समीक्षागत रूपमा सफल यी दुई चलचित्रहरूलाई श्रीलङ्काको जाफ्ना सांस्कृतिक केन्द्रमा प्रदर्शन गरिने फेस्टिभलको आयोजक संस्था सार्क कल्चरल सेन्टरको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ।

यो अवसर नेपाल दिवसको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको हो। यी दुवै चलचित्रहरू यसअघि सन् २०१९ मा आयोजना भएको सार्क फिल्म फेस्टिभलमा भाग लिएका थिए।

विनोद पौडेलको लेखन र निर्देशन रहेको चलचित्र ‘बुलबुल,’ जुन सन् २०१९ मा प्रदर्शनमा आएको थियो। यसमा स्वस्तिमा खड्का, मुकुन भुसाल र लक्ष्मी बर्देवाले मुख्य भूमिका निर्वाह गरेका छन्। यस चलचित्रले काठमाडौंको गल्लीहरूमा टेम्पो चलाउँदै आफ्ना परिवारलाई सहयोग गर्ने एक महिलाको सङ्घर्षमय जीवनको कथा प्रस्तुत गर्छ। समाजमा महिलाले सामना गर्नुपरेका कठिनाइ र चुनौतीहरूलाई प्रभावकारी ढङ्गले चित्रण गरिएको यो चलचित्रले महिला सशक्तीकरणको सन्देश दिन्छ। ‘बुलबुल’को प्रदर्शन ११ सेप्टेम्बर २०२४ मा दिउँसो ३ बजे जाफ्ना सांस्कृतिक केन्द्रमा हुनेछ।

त्यस्तै, चलचित्र ‘प्रसाद,’ दिनेश राउतको निर्देशनमा तयार भएको हो। यो चलचित्रले सन्तान प्राप्तिका लागि सङ्घर्षरत अन्तरजातीय विवाह गरेका दम्पतीको कथालाई केन्द्रमा राखेको छ। समाजमा शक्ति र प्रभावमा रहेका मानिसहरूले साधारण व्यक्तिहरूलाई कसरी डराउने र नियन्त्रण गर्ने प्रयास गर्छन् भन्ने विषयमा गहिरो सन्देश दिने यस चलचित्रमा पति र उनकी पत्नीसँग जोडिएको बलात्कारको घटनाले नै मुख्य कथा अगाडि बढाउँछ। यो चलचित्रले नारी शक्ति, न्याय र सामाजिक कलङ्कका मुद्दाहरूबारे महत्त्वपूर्ण प्रश्नहरू उठाउँछ। ‘प्रसाद’को प्रदर्शन ११ सेप्टेम्बर २०२४ मा साँझ ६ बजे जाफ्ना सांस्कृतिक केन्द्रमा हुनेछ।

दुवै चलचित्रहरू नेपालका सामाजिक, सांस्कृतिक र व्यक्तिगत सङ्घर्षहरूलाई प्रस्ट्याउने उदाहरणीय कृति हुन्। जसले सार्क फिल्म फेस्टिभलमा नेपाललाई सम्मानका साथ प्रस्तुत गर्नेछन्। जाफ्नामा रहने नेपाली समुदायका साथै अन्य दर्शकहरूले पनि यी फिल्महरू हेर्ने अवसर पाउनेछन्। कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था रहेको छ।

सार्क कल्चरल सेन्टरले आयोजना गर्ने यो फिल्म फेस्टिभलले दक्षिण एसियाली राष्ट्रहरूको सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउने अपेक्षा गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu