‘कमर्शियल’ जोखिम भन्दै लगानी नआएपछि ‘देवी’मा आफै लगानी गरेँ: शिल्पा मास्के



काठमाडौं। तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने नारी प्रधान चलचित्र ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्के निकै व्यस्त छिन्। उनी यस चलचित्रमा प्रमुख भूमिकामा देखिनुका साथै सह-निर्मात्रीको जिम्मेवारी पनि निभाउँदै छिन्, जसले गर्दा उनको सक्रियता अरू चलचित्रभन्दा बढी देखिएको छ।

पत्रकारहरूसँगको कुराकानीमा शिल्पाले स्क्रिप्ट तयार भएपछि धेरै निर्मातासँग पुग्दा, यो ‘कमर्शियल’ चलचित्र नभएको भन्दै लगानी गर्न कसैले इच्छा नदेखाएको बताइन्। लगानीकर्ताहरूले ‘कमर्शियल’ जोखिमका कारण पन्छिन खोजे पनि शिल्पाले कन्टेन्टप्रति विश्वास राखेर आफैँ सह-निर्मात्रीको भूमिकामा उत्रने निर्णय गरिन्।

शिल्पाका अनुसार, निर्माताको जिम्मेवारी अत्यन्त चुनौतीपूर्ण हुने रहेछ। प्रचारको क्रममा विभिन्न जिम्मेवारी सम्हाल्नुपर्दा, दिमाग धेरै ठाउँमा पुग्नुपर्ने अवस्था आउने अनुभव उनले सुनाइन्। यद्यपि, पहिलो अनुभव भएकाले उनले धेरै कुरा सिक्न पाएको बताइन्। यदि यो चलचित्र व्यावसायिक रूपमा सफल भएमा, शिल्पाले आगामी दिनमा पनि चलचित्र निर्माणलाई निरन्तरता दिने योजना रहेको उल्लेख गरिन्।

चलचित्रको विषयवस्तु र निर्माण प्रक्रियाबारे थप चर्चा गर्दै शिल्पाले ‘देवी’लाई व्यापारिक दृष्टिकोणले नभई सामाजिक सन्देश दिनका लागि निर्माण गरिएको बताइन्। महिला केन्द्रित र कन्टेन्टमुखी चलचित्र अहिलेको समयले मागेको भन्दै, यस्ता चलचित्रहरूले पनि व्यावसायिक सफलता हासिल गर्न सक्ने उनको विश्वास छ।

निर्देशक सन्जोग राईको निर्देशनमा बनेको ‘देवी’ चलचित्र बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठाउँछ। शिल्पाले यस चलचित्रमा बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेकी छन्। रिपोर्टिङको अनुभव नहुँदा, उनले एक महिला पत्रकारसँग भेटघाट गरी रिपोर्टिङको प्रक्रिया बुझिन्, जसले उनको चरित्र निर्माणमा ठुलो सहयोग पुगेको बताइन्।

चलचित्रको स्क्रिप्ट लेखनको क्रममा धेरै अनुसन्धान गरिएको शिल्पाले दाबी गरिन्। बलात्कारका घटनाका तथ्याङ्कदेखि पत्रपत्रिकामा प्रकाशित भएका अधिकांश आर्टिकलहरू सङ्कलन गरेर गहिरो अध्ययन गरिएको उनले बताइन्। यद्यपि, पीडितहरूसँग प्रत्यक्ष भेटघाट नगरेको कारण, चलचित्रमा प्रयोग गरिएका घटनाहरू काल्पनिक भएको र कुनै पनि पीडितको नाम नसमेटिएको शिल्पाले स्पष्ट पारिन्।

शिल्पा मास्केले चलचित्रको विषयवस्तु दर्शकहरूसम्म पुगी यस्ता घटनाहरूको निर्मूल गर्न कसरी योगदान दिन सकिन्छ भन्ने बहस चलोस् भन्ने उद्देश्यले ‘देवी’ निर्माण गरिएको बताइन्।

‘देवी’ चलचित्रको कथा निर्देशक सन्जोग राई र अजय गौतमले मिलेर लेखेका हुन्। यो चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ। चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्माण टिममा शिल्पा मास्केसँगै रेमन गुरुङ, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा सह-निर्मात्रीका रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu