सांसद चन्द्र भण्डारीद्वारा गायिका विष्णु माझीलाई सार्वजनिक गर्न आग्रह



काठमाडौं। नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मङ्गलवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चर्चित गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन्। उनले गायिका माझीको गोपनीयताको अधिकारको सम्मान गर्दै, धेरै नेपाली नागरिकले उनलाई प्रत्यक्ष देख्न चाहेको जनाएका छन्।

सांसद भण्डारीले भने, “विष्णु माझीको स्वरले नेपालीहरूको हरेक मनमा गहिरो छाप छोडेको छ। उनीलाई प्रत्यक्ष देख्न पाउने नेपाली जनताको चाहना रहेको छ। कुनै उपाय वा सम्भावना भएमा, गायिका माझीलाई सार्वजनिक गर्न आग्रह गर्दछु।”

उनले हालै मात्र सार्वजनिक भएको माझीको नयाँ तीज गीत “आइन आमा यो तीजैमा”को विशेष प्रशंसा गर्दै यसले नेपाली समाज र संस्कृतिलाई उत्कृष्ट रूपमा प्रतिनिधित्व गरेको उल्लेख गरे।

वर्षौँदेखि गायिका विष्णु माझी सार्वजनिक जीवनबाट अलग रहेकी छिन्। उनले हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक गर्ने गरेकी छिन्, तर आफू भने कहिल्यै मिडिया वा सार्वजनिक कार्यक्रममा देखिन चाहन्नन्।

यस विषयमा धेरैले गायिका माझीलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै आए पनि, सङ्गीत क्षेत्रका सम्बन्धित सङ्घ संस्थाहरूले भने उनको यो निर्णयलाई व्यक्तिगत अधिकारको रूपमा लिएको जनाएका छन्। उनीहरूका अनुसार, गायिका माझी सम्पर्कमै छिन्, र आफ्नो स्वेच्छाले सार्वजनिक नभइरहनु उनको व्यक्तिगत निर्णय हो, जसलाई सम्मान गर्नुपर्छ।

सांसद भण्डारीको यो आग्रहसँगै गायिका माझीको गोपनीयताको विषयले पुनः चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu