‘अब मलाई पुजा शर्मा भनेर चिन्नकै लागि कुदिरहनु पर्दैन’



काठमाडौं। चलचित्र ‘थ्री लभर्स’ मार्फत अभिनयमा ब्रेक पाएपछि सञ्चारकर्मी पुजा शर्माले सञ्चार कर्म छोडिन् र अभिनयमा आफूलाई स्थापित गरिन्। अहिले आफैले निर्माण गरेको नयाँ चलचित्र ‘रावायण’मा उनी पुनः सञ्चारकर्मीको भूमिकामा देखिँदै छिन्, जसले उनको पुरानो अनुभवलाई पुनः ताजा बनाएको छ।

‘रावायण’मा पुजा टेलिभिजन पत्रकारको भूमिकामा देखिनेछिन्, जसका लागि उनले विशेष तयारी गरेकी थिइन्। यस भूमिकामा विश्वसनीयता ल्याउन उनले समाचार हेर्ने, बोलचालको शैली अध्ययन गर्ने लगायतका प्रक्रिया अपनाइन्। उनले भनिन्, “पत्रकारको भूमिकामा अभिनय गर्दा पुराना सम्झनाहरू जागृत भए, जसले मलाई अलिकति सचेत बनायो।”

पुजाका अनुसार, ‘रावायण’को कथा नै उनको कारणले अघि बढेको छ। उनले यो चलचित्रलाई ‘एसिड आक्रमणदेखि लिएर देशमा शक्ति दुरुपयोग’ जस्ता विषयवस्तुलाई उजागर गर्ने माध्यमको रूपमा लिएकी छन्। यस चलचित्रबाट उनी आफूलाई उत्कृष्ट मेकरका रूपमा स्थापित गर्न चाहन्छिन् र यसमा सफल हुने विश्वास व्यक्त गरिन्।

पुजा अब आफूलाई ‘नम्बर वन’को ट्यागले पुगेको बताउँछिन्। उनले भनिन्, “अब मलाई पुजा शर्मा भनेर चिन्नकै लागि कुदिरहनु पर्दैन, म अब मेकरको हिसाबले अघि बढिरहेकी छु।” उनले आफूलाई मेकरका रूपमा स्थापित गर्ने लक्ष्य राखेर ‘रावायण’मा लगानी गरेको उल्लेख गरिन्।

चलचित्र ‘रावायण’मा पुजा शर्मा निर्माता समेत भएकाले उनीमाथि दोहोरो दबाब रहेको छ। त्यसैले आगामी प्रोजेक्टमा उनले केवल एक भूमिका रोज्ने योजना बनाएकी छन्।

चलचित्रमा पल शाहसँग सहकार्य गर्दै उनले पललाई सहज सहकर्मीको रूपमा पाएको बताइन्। पुजा ‘रावायण’मा पलको मेहनतको प्रशंसा गर्छिन्, “पलले यस चलचित्रमा आफूलाई पुरै समर्पण गरेको छ र यो उसको करिअरको सबैभन्दा बढी मेहनत गरिएको चलचित्र हो।”

‘रावायण’ भदौ २१ गतेदेखि रिलिज हुँदैछ। पुजा शर्मा र पल शाहको यो सहकार्यलाई दर्शकले कत्तिको रुचाउनेछन् भन्ने कुराको प्रतीक्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu