नेपालमा दुर्लभ बनेको ५१ दिनको सफल यात्रामा ‘घरज्वाइँ’



काठमाडौं। गत असार २८ गतेदेखि देशभरका सयभन्दा बढी हलमा २ सय ५० भन्दा धेरै शो मार्फत प्रदर्शन सुरु भएको नेपाली चलचित्र ‘घरज्वाइँ’ ले शनिवार ५१ दिनको सफल यात्रा पूरा गरेको छ। वितरकका अनुसार चलचित्रले हालसम्म करिब ६ करोड रुपैयाँको व्यापार गरेको छ। 

शनिवार साँझ काठमाडौंमा निर्माताले चलचित्रको ५१ दिन पूरा भएको अवसरमा एक कार्यक्रम आयोजना गरेका थिए। काठमाडौं उपत्यकाभित्र नयाँ बसपार्कस्थित ल्होत्से मल आइएनआइ सिनेमा, गोङ्गबुस्थित बिएसआर मुभिज, सामाखुसीस्थित सिटी स्क्वायर क्युएफएक्स सिनेमा, नयाँ बानेश्वरस्थित एनबि सेन्टर आइएनआइ सिनेमा र उपत्यका बाहिर नेपालगन्जको सिने रोयल तथा बुटवलको क्युबक्स सिनेमामा चलचित्रले ५१ दिन सफलतापूर्वक पूरा गरेको जानकारी वितरक रोहित कट्टेलले दिएका छन्।

अनिल बुढा मगरको निर्देशनमा बनेको यो चलचित्र मगर संस्कृतिमा आधारित छ। चलचित्रका निर्माता जनक घर्ती मगर हुन् भने, छायाङ्कन सुसन प्रजापतिले गरेका हुन्। पूर्वी रुकुम र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस चलचित्रले मगर समुदायको जीवनशैली र संस्कृतिलाई प्रस्तुत गरेको छ।

‘घरज्वाइँ’ जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो। यसमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, र सुनिल मगरले अभिनय गरेका छन्। आरआर फिल्मस्ले यो चलचित्रलाई नेपालभर वितरण गरेको हो।

नेपाली चलचित्रमा दुर्लभ मानिने ५१ दिनको यात्रासँगै यो चलचित्रले आफ्नो सफलताको एउटा महत्त्वपूर्ण माइलस्टोन पार गरेको छ, जसले नेपाली चलचित्र उद्योगमा मौलिक संस्कृतिमा आधारित चलचित्रप्रति दर्शकहरूको आकर्षणलाई प्रमाणित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu