‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतको सफलतामा अभिनेत्री ठकुरीको भावुक अभिव्यक्ति



काठमाडौं। धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युबमा तहल्का मच्चाउँदै पहिलो नम्बर ट्रेन्डिङमा छ। एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको गीतले यो समाचार तयार पार्दासम्म लगभग साढे सात लाख भ्युज बटुलिसकेको छ।

गीतले सार्वजनिक भएदेखि नै दर्शकहरूको मन जितिरहेको छ। विशेष गरी धिरज र उपासनाको गजबको केमेस्ट्रीलाई धेरैले उत्कृष्ट भनेका छन्। गीतको लोकप्रियताले प्रेरित रहेकी अभिनेत्री उपासना सिंह ठकुरीले फेसबुकमा आफ्नो भावना व्यक्त गरेकी छन्।

करिब चालिस दिनसम्म छायाङ्कनको क्रममा रुकुमको मैकोटमा बसेका यादहरूलाई त्यहाँका बालबालिकाहरूसँग लिइएका तस्बिरहरूमार्फत साझा गर्दै उपासनाले लेखेकी छिन्, “हाम्रो गीत ‘रुकुम मैकोट’ले युट्युबमा नम्बर एकमा पुगेको देखेर म एकदमै खुसी छु। मैकोट, नेपालको एउटा लुकेको खजाना, मलाई पुरानो साथी जस्तै लाग्यो। यस ठाउँले मेरो आत्मालाई शान्ति र स्थिरता प्रदान गर्‍यो। यो गीत केवल सङ्गीत मात्र होइन, यो मैकोटको सौन्दर्यको सम्मान हो। म त्यस ठाउँमा आफ्नो मनको टुक्रा छोडेर आएँ र म फेरि त्यहाँ फर्किन आतुर छु।”

असोज ३ गते रिलिज हुने ‘खुस्मा’को लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन्। मगरका लागि यो ठुलो पर्दाको पहिलो निर्देशन हो। यसअघि उनले केही डकुमेन्ट्री चलचित्रहरूमा लेखन तथा निर्देशन गरेका थिए, जसले उनलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूबाट नौ वटा पुरस्कार दिलाइसकेको छ।

चलचित्रको निर्माण एम मिडिया प्रालिको ब्यानरमा भएको हो, जसका निर्माताहरू विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन्। चलचित्रमा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको यसमा दिपक बज्राचार्यको छायाङ्कन रहेको छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित यो चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथालाई पर्दामा उतार्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu