लक्ष्मीपूजामा ‘पूर्ण बहादुरको सारङ्गी’  थपिएपछि ‘मायावी’का निर्देशक भट्टराईको असन्तुष्टि



काठमाडौं। लक्ष्मीपूजाको दिन कात्तिक १५ मा तीन नेपाली चलचित्रहरू ‘मायावी,’ ‘एक्टरः टेक वन,’ र ‘पूर्ण बहादुरको सारङ्गी’ एकसाथ प्रदर्शनमा आउने घोषणा भएपछि नेपाली चलचित्र उद्योगमा निर्माताहरूबिच हुने प्रतिस्पर्धा सतहमै देखिएको छ। यसरी एकै मितिमा तीन ठुला चलचित्रहरू रिलिज हुने भएपछि यसले चलचित्रकर्मीहरूमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ।

दोस्रो नम्बरमा रिलिज मिति घोषणा गरिएको चलचित्र ‘मायावी’का निर्देशक दिवाकर भट्टराईले यस विषयमा आफ्नो असन्तुष्टि फेसबुक मार्फत् व्यक्त गरेका छन्। उनले लेखेका छन्, “यो पीडा कसले बुझिदिने? हामी सबैलाई आफ्नो मार्केटिङ पब्लिसिटी चाहिएको छ निर्माता जाओस् खाल्डोमा! विडम्बना!”

दिवाकरको यो पोस्टले नेपाली चलचित्र उद्योगमा व्याप्त चुनौतीहरू र चलचित्र निर्माताहरूको अस्वस्थ प्रतिस्पर्धाको सङ्केत गर्छ। तेस्रो नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन मिति घोषणा भएपछि यो प्रतिस्पर्धा थप पेचिलो बनेको छ। यससँगै ‘एक्टरः टेक वन’ पनि सोही मितिमा प्रदर्शनमा आउँदैछ, जसले सुरुमा नै रिलिज मिति तय गरेको थियो। 

राजन भुसालले निर्देशन गरेको ‘एक्टरः टेक वन’मा प्रदिप खड्का, दिव्या रायमाझी, आना शर्मा, र राजबल्लभ कोइराला मुख्य भूमिकामा छन्। भट्टराईले निर्देशन गरेको ‘मायावी’मा पल शाह र दिपिका प्रसाईँको प्रमुख भूमिका रहेको छ। सरोज पौडेलले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।

आशा गरिएका तीन चलचित्रहरू एकसाथ रिलिज हुनु नेपाली चलचित्र क्षेत्रको लागि चुनौतीपूर्ण मात्र होइन, दर्शकहरूको ध्यानाकर्षण गर्न र बक्स अफिसमा सफलताको लडाइँ जित्न सबैका लागि कठिनाइपूर्ण यात्रा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu