चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन आरम्भ



काठमाडौं। नेपाली चलचित्र ‘वर एण्ड वधु’ आजबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रले दर्शकहरूको ठुलो अपेक्षा बटुलिरहेको छ।

बिहीबार ललितपुरको लाबिम मलमा गरिएको भव्य प्रिमियर शोमा चलचित्रले अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो, जसले चलचित्रप्रति दर्शकहरूको उत्सुकता झनै बढाएको छ।

प्रिमियरको विशेषता ‘रेड कार्पेट मिरर वाल्क’ थियो, जसले कार्यक्रमलाई अझै भव्य बनाएको थियो। प्रिमियरमा सहभागीहरूको प्रतिक्रियामा चलचित्रको कथावस्तु, दृश्य, र कलाकारहरूको अभिनयको विशेष प्रशंसा गरिएको थियो। प्रिमियरमा चलचित्र हेर्नेहरूले दर्शकहरूलाई भावनात्मक रूपमा छुने बताएका थिए। नव-नायक विवेक कर्माचार्यको अभिनयले पनि विशेष प्रशंसा पाएको छ, जहाँ विवेकले नयाँ कलाकारको रूपमा नभएर एक परिपक्व कलाकारको जस्तो प्रदर्शन गरेको प्रतिक्रिया छ।

निर्देशक मिलन चाम्सले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् भने नायिका आँचल शर्माले चलचित्रप्रति आफ्नो विश्वास व्यक्त गर्दै दर्शकहरूको लागि विशेष अनुभव हुने बताइन्।

चलचित्रको निर्माण एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा जानुका थापाले गरेकी हुन् भने अमित रिजाल कार्यकारी निर्माता हुन्। चलचित्रमा प्रमुख भूमिका निभाउने कलाकारहरूमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, रविन्द्र खड्का, किरण केसी, कुसुम शर्मा, सृष्टि खड्का, र सरिता लामिछाने रहेका छन्। चलचित्रको सिनेमाटोग्राफी सुदिप बरालले गरेका छन्, सम्पादन मिलन श्रेष्ठले, र ट्रेलर कटिङ साहिल खानले गरेका छन्। हिमाल केसीको एक्सन निर्देशन, प्रदीप भारद्वाजको लेखन, र अर्जुन पोखरेलको सङ्गीत रहेको छ।

‘वर एण्ड वधु’ले मल्टिप्लेक्सहरूमा उत्कृष्ट शो प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu