प्रकाश शाहको ‘रावायण’यात्रा: भोजपुरी देहातदेखि शक्तिशाली ‘काल्का’ पात्रसम्मको सङ्घर्ष



काठमाडौं। चलचित्र ‘रावायण’का अभिनेता प्रकाश शाहले आफ्नो अभिनय यात्रामा सधैँ चुनौतीपूर्ण भूमिकाहरूको खोजीमा रहन्थे। उनको खोजी अनुसारको भूमिका भदौ २१ गते रिलिज चलचित्र ‘रावायण’मा पाए। यस चलचित्रमा उनले तराई मूलका ‘काल्का’ पात्रको भूमिका निभाएका छन्, जुन उनले अहिलेसम्मकै कठिन र अविस्मरणीय अनुभवका रूपमा उल्लेख गरेका छन्।

प्रकाशलाई निर्देशक सुदर्शन थापासँग काम गर्ने चाहना लामो समयदेखि थियो। जब सुदर्शनले उनलाई ‘रावायण’मा ‘काल्का’ पात्रको प्रस्तुति गरे, प्रकाश छक्क परे। ‘मलाई जब सुदर्शनले यो पात्रको बारेमा सुनाउनुभयो, म पुरै आश्चर्यचकित भएँ। यो भूमिकाले मलाई दर्शकहरूबिच सदाबहार स्मृतिमा राख्नेछ भन्नेमा म पूर्ण विश्वस्त भएँ,’ प्रकाशले आफ्नो अनुभव साटे।

तर, यो भूमिका सहज थिएन। प्रारम्भमा उनलाई प्रमोद अग्रहरीले अभिनय गरेको ‘आलम’ पात्रको लागि प्रस्ताव गरिएको थियो, तर स्क्रिप्ट पढ्दै जाँदा उनी ‘काल्का’ मा लोभिए। ‘यो पात्र जति शक्तिशाली छ, त्यो निभाउन त्यति नै चुनौतीपूर्ण पनि थियो,’ उनले भने।

‘रावायण’मा शाहले ‘काल्का’ नामक एक भोजपुरी देहाती चरित्रलाई जीवन्त बनाएका छन्। चलचित्रको तयारीका लागि उनले वीरगन्जको यात्रामा १० दिन बिताए, जहाँ उनले देहाती जीवनशैलीको गहिरो अध्ययन गरे। ‘म वीरगन्जमा १० दिन बसेर त्यहाँका देहातीहरूले कसरी लुगा लगाउँछन्, कसरी बोल्छन् भनेर अध्ययन गरेँ,’ प्रकाशले बताए।

चलचित्रका लागि प्रकाशले आफ्नो लुक्समा पनि व्यापक परिवर्तन गरे। ‘तीन महिनासम्म मैले दाह्री जुँगा र कपाल काटिनँ, र कपाल पनि स्थानीय देहातीकै जस्तो बनाएँ। म जतिसक्दो फोहोर देखिन चाहन्थेँ,’ उनले भने। यस भूमिकाले उनलाई अभिनयमा एउटा नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेमा उनी निश्चित थिए।

प्रकाशले चलचित्रमा दुई फरक उमेरका पात्र निभाएका छन्, जसले उनको अभिनय क्षमताको विविधता उजागर गर्छ। युवा उमेरमा ‘काल्का’ शक्तिशाली र प्रभावशाली हुन्छ, जसलाई उनले जङ्गलको राजा जस्तै रूपमा चित्रण गरेका छन्। समयसँगै, ऊ कमजोर हुँदै जान्छ र भैसीपालनको काम गर्न थाल्छ, तर अन्ततः पुरानो पेसामा फर्कन्छ।

चलचित्रमा निकिता चण्डकसँगको एक आइटम गीतले प्रकाशको चरित्रलाई अझै बढी जीवन्त बनाएको छ। ‘काल्का’ पात्र नाचगानमा पनि उत्तिकै रमाउँछ,’ उनले हाँस्दै भने। सुटिङको समयमा उनको खतरनाक लुक्सले बालबालिकाहरूलाई तर्साउँथ्यो, तर उनलाई यही कुराले गर्वको अनुभूति गराउँथ्यो।

प्रकाश शाहलाई ‘काल्का’ पात्रबाट बाहिर निस्कन पनि उत्तिकै कठिन भयो। ‘चलचित्रको सुटिङ सकिएपछि म क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो,’ उनले भने। ‘रावायण’मा प्रकाशले निभाएको ‘काल्का’ पात्र नेपाली चलचित्र उद्योगमा लामो समयसम्म स्मरणीय रहनेमा विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu