चलचित्र ‘एक्लो’मा कल्की बन्दै प्रदीप, छायाङ्कन अगावै पोस्टर सार्वजनिक



काठमाडौं। अभिनेता प्रदीप खड्कालाई ‘कल्की’को रूपमा परिचय गराउँदै चलचित्र ‘एक्लो’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक प्रदीप शाहीले आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्टर सेयर गर्दै लेखेका छन्, “प्रदीप खड्का नै कल्की हुन्। यो पात्र वर्षौँदेखि मेरो कल्पनामा बाँचिरहेको थियो, सही कथाको प्रतीक्षामा। अब, हाम्रो विज्ञान-कल्पना (साइ-फाइ) र जम्बी थ्रिलर ‘एक्लो’मा, यसले आफ्नो सही ठाउँ फेला पारेको छ। भोलिदेखि छायाङ्कन सुरु हुँदैछ।”

यसै क्रममा, बुधवार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा चलचित्र ‘एक्लो’को शुभ मुहूर्त गरिएको छ। चलचित्र बिहीबारदेखि छायाङ्कनमा जानेछ। यो चलचित्रलाई बेलायतबाट आएका निर्देशक प्रदीप शाहीले निर्देशन गर्दैछन्, जसले बेलायतमा फिल्म निर्माणको अध्ययन गरेका छन्। शाहीले यसअघि ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन्।

चलचित्रको प्रमुख भूमिका निभाउन बेलायती अभिनेता जेमी बेकन मङ्गलवार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन र कविता नेपाली लगायतले ढाकाटोपी र फूलमालाले स्वागत गरेका थिए।

‘एक्लो’मा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डिसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, र दिया पुन जस्ता नेपाली कलाकारहरूसँगै जेमी बेकनको अभिनय पनि देख्न पाइनेछ।

चलचित्र ‘एक्लो’लाई साही प्रोडक्सन नेपालले निर्माण गर्दैछ, जसमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ। ‘एक्लो’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्य राखेको छ। यो चलचित्र सन् २०२५ मा प्रदर्शनको लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu