चलचित्र ‘साम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक, भदौ २८ गते नेपालमा प्रदर्शन हुने



काठमाडौं। यही भदौ २८ गते रिलिज हुने चलचित्र ‘साम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमा बहु प्रतीक्षित यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

मीनबहादुर भामले निर्देशन गरेको यो चलचित्रको प्रमुख भूमिकामा थिन्ले ल्हामो र सोनम तोप्देन रहेका छन्। साथै, टेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य, लोटेन नामलिङ, जंगबहादुर लामा, छिरिङ छोडेन, छिरिङ ल्हामो गुरुङ, र छिरिङ छोएब्ले टोवा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘शाम्बाला’को वर्ल्ड प्रिमियर प्रतिष्ठित बर्लिन् फिल्म फेस्टिभलमा भएको थियो। नेपाली र तिब्बती भाषाको मिश्रण रहेको यो चलचित्रमा नेपाल रिलिजको लागि अङ्ग्रेजी र नेपाली सबटाइटल समावेश गरिएका छन्। निर्देशक मीनबहादुर भामले यो चलचित्रलाई नेपालभर बृहत् रूपमा प्रदर्शन गरिने घोषणा गरेका छन्।

चलचित्रलाई ड्रामा, एड्भेन्चर, र म्याजिक रियालिजमको मिश्रण जनरामा आधारित बताइएको छ। ‘शाम्बाला’ नेपालको हिमाली क्षेत्रको बहुपति प्रथामा आधारित छ, जसले पेमा नामकी एक महिलाको कथा प्रस्तुत गर्छ। पेमा तीन दाजुभाइहरूसँग विवाह बन्धनमा बाँधिएकी छिन्। जब उनका जेठा श्रीमान् टासी व्यापारका लागि गएर बेपत्ता हुन्छन्, तब गर्भवती पेमा आफ्नो बच्चाको वैधताको खोजीमा दोस्रो श्रीमान् कर्मसँग टासीको खोजीमा यात्रा थाल्छिन्। सांसारिक खोजको रूपमा सुरु भएको यो यात्रा कसरी पेमाको आत्मज्ञान र मुक्तिको मार्गमा रूपान्तरण हुन्छ भन्ने विषय चलचित्रको केन्द्रमा छ।

१४ करोड रुपैयाँको लागतमा बनेको यो चलचित्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ संस्थाबाट फण्ड जित्न सफल भएको थियो। चलचित्रको सम्पूर्ण छायाङ्कन माथिल्लो डोल्पामा गरिएको छ। बर्लिन् फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा प्रिमियर हुने ‘शाम्बाला’ दक्षिण एसियाको पहिलो चलचित्र हो, जसले तीन दशकपछि यस्तो सम्मान प्राप्त गर्‍यो। यो चलचित्र स्वीट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभल (Piazza Grande) मा छनोट हुने पहिलो नेपाली चलचित्र पनि हो, जहाँ अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि अवार्ड जितेकी थिइन्।

‘शाम्बाला’का पटकथाकार मीनबहादुर भाम र अविनाश विक्रम शाह हुन्। निर्माता मीनबहादुर भाम, छायाकार अजीज झाम्बाकिएभ, सम्पादकहरू किरण श्रेष्ठ र लियाओ चिङ-सुङ, तथा सङ्गीतकार न्ह्यू बज्राचार्य हुन्।

यस चलचित्रले नेपालको चलचित्र उद्योगमा एक महत्त्वपूर्ण स्थान बनाउने विश्वास रहेको निर्देशक भामले बताए।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu