काठमाडौं। नेपालको चलचित्र उद्योगले दक्षिण एसियामा पहिलो पटक ‘डिटिएसः एक्स’ (DTS:X) प्रविधि भित्र्याएको छ। यो प्रविधि नेपालमा भित्र्याउने श्रेय ख्यातिप्राप्त साउण्ड डिजाइनर र रि-रेकर्डिङ मिक्सर उत्तम न्यौपानेलाई जान्छ। उत्तम नेतृत्वको स्टुडियो ‘लाइनवुड अडियो पोस्ट वर्क’ दक्षिण एसियाको पहिलो र एक मात्र प्रमाणित ‘डिटिएसः एक्स’ मिक्सिङ स्टुडियो बनेको छ। चलचित्र क्षेत्रमा नयाँ मानक स्थापित गर्दै न्यौपानेले यो प्रविधि दक्षिण एसियामा नै पहिलो पटक भित्र्याएका हुन्।
एसिया-प्यासिफिक क्षेत्रमा सबैभन्दा ठुलो मिडिया सर्भर र सिनेमा थिएटर म्यानेजमेन्ट सिस्टम भएको जिडिसी टेक्नोलोजी लिमिटेडले आफ्नो वेबसाइटको ‘कस्टुमर स्टोरिजमा’मा ‘नेपाल र दक्षिण एसियामा पहिलो पटक उत्तम न्यौपानेको स्टुडियोसँग IAB को लागि DTS:X प्रवर्द्धन’ शीर्षकमा सामग्री प्रकाशित गरेको छ। जिडिसी टेक्नोलोजीले विश्वभर ‘डिटिएसः एक्स’ प्रविधिलाई विस्तार गर्छ।
‘डिटिएसः एक्स’ प्रविधिले भविष्यमा चलचित्र उद्योगमा कस्तो परिवर्तन ल्याउने छ भन्न गाह्रो छ, तर न्यौपाने यसको सम्भावनाबारे उत्साहित छन्। “मेरो लक्ष्य भनेको ‘डिटिएसः एक्स’ को सन्तुलित प्रयोग गरेर दर्शकलाई चलचित्रको कथा भित्र सामेल गराउनु हो,” उनी भन्छन्। न्यौपानेले यस प्रविधिलाई नेपालमा भित्र्याएर देशलाई उन्नत सिनेमा प्रविधिको क्षेत्रमा अगाडि बढाएका छन् र दक्षिण एसियाली चलचित्रकर्मीहरूलाई पनि यो प्रविधिमा नेपालमा ध्वनि मिश्रणको लागि प्रयोग गर्ने प्रचुर सम्भावनाको ढोका खोलेका छन्।
नेपाली चलचित्रमा ध्वनि मिश्रणको नयाँ युग
“नेपाल र दक्षिण एसियामा पहिलो पटक ‘डिटिएसः एक्स’ प्रविधि भित्र्याउन मलाई प्रेरित गर्ने कारणहरू धेरै थिए। यो एक ‘अब्जेक्ट-बेस्ड थ्री-डाइमेन्सन इमर्सिभ साउन्ड फर्म्याट’ हो, जसले दर्शकलाई वास्तविक संसारको अनुभव चलचित्रमा महसुस गराउँछ। उदाहरणका लागि, कुनै दृश्यमा ठुलो हुन्डरी चट्याङ परेको छ भने, यो प्रविधिमा ध्वनि मिश्रण गर्दा चट्याङको आवाज आकाशबाटै सुन्न सकिन्छ, जसले दर्शकलाई वास्तविक अनुभव दिन्छ,” उत्तम भन्छन्। “नेपालमा ध्वनिलाई खासै महत्त्व दिइँदैन भन्ने धारणा रहेको अवस्थामा, मैले ‘डिटिएसः एक्स’ साउन्ड फर्म्याटलाई नेपालमा भित्र्याउनु आवश्यक ठानेँ। SMPTE ले IAB-MXF नामक कमन फर्म्याट विकास गरेपछि, ‘डिटिएसः एक्स’ र डल्बी एटमसमा मिक्स गरिएको सिनेमा अब सबै ‘इमर्सिभ फर्म्याट’का सिनेमा हलमा अनुभव गर्न सकिन्छ।”
‘डिटिएसः एक्स’ प्रविधि नेपालमा भित्र्याउन न्यौपानेलाई उनको नयाँपनप्रतिको लगाव र चलचित्रकर्मीहरूलाई कथा भन्न सशक्त माध्यम प्रदान गर्ने इच्छाले प्रेरित गर्यो। उनी भन्छन्, “मलाई साउण्ड फर्म्याटलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भयो। ‘डिटिएसः एक्स’ साउण्ड फर्म्याटले चलचित्रकर्मीलाई प्रभावकारी कथा भन्न सहयोग गर्दछ भन्ने मलाई ज्ञान थियो।”
उत्तमसँग यो प्रविधि भित्र्याउनु अगावै ध्वनि मिश्रणका नयाँ प्रविधिमा काम गरेको अनुभव थियो, जसको कारण उनलाई यो प्रविधिमा खासै चुनौतीहरू सामना गर्नुपरेन। “‘डिटिएसः एक्स’ प्रविधि लागू गर्दा मलाई खासै चुनौतीहरू सामना गर्नुपरेको थिएन। मैले प्रयोग गरिरहेको प्रविधिहरू पहिले नै उद्योग मानकका थिए। मेरो अनुभव र मेरो उपकरणहरू सर्टिफाइड हुनुका कारण, सर्टिफिकेशन प्रक्रिया ३-४ महिनामा सम्पन्न भयो। यो सबै पूरा गर्न पछि, मैले ”डिटिएसः एक्स’ इमर्सिभ आइएबि रेन्डरर’ प्राप्त गरेँ। डल्बी एटमसमा पहिले नै नेपाली चलचित्रको मिक्सिङ गरेकै कारण, ‘डिटिएसः एक्स’मा मिक्सिङ गर्न मलाई सजिलो भयो,” उत्तमले बताए।
नेपालको पहिलो ‘डिटिएसः एक्स’ प्रविधिको चलचित्र
दिनेश राउतको निर्देशनमा बनेको चलचित्र “पुजार सार्की” ‘डिटिएसः एक्स’ प्रविधि प्रयोग गरिएको पहिलो नेपाली चलचित्र हो। “यो प्रविधिको प्रयोगले हाम्रा लागि नयाँ ‘साउण्ड स्केप’ डिजाइन गर्न सजिलो भयो, जसले दर्शकलाई ४०-५० वर्ष पहिलेको समयमा लैजान सक्षम भयौँ,” न्यौपाने भन्छन्। हाल नेपालमा थुप्रै सिनेमा हलहरूले ‘डिटिएसः एक्स’ प्रविधि अपनाइसकेका छन्, जसले दर्शकलाई वास्तविक चलचित्र अनुभव प्रदान गर्दछन्।
उत्तम न्यौपाने CAS, राष्ट्रिय पुरस्कार विजेता नेपाली साउन्ड डिजाइनर र रि-रेकर्डिङ मिक्सर हुन्। उनले ब्रिटिस, जर्मन, फ्रान्सेली, भारतीय, बङ्गलादेशी, इराक-कुर्दिस्तान तथा नेपाली चलचित्रहरूमा आफ्नो विशेषज्ञता प्रदर्शन गरेका छन्। उनले ध्वनि-मिक्स गरेका चलचित्रहरू “बुलबुल” र “टलकजंग भर्सेस टुल्के” क्रमशः ९२ औँ र ८८ औँ एकेडेमी अवार्डस्को लागि नेपालको आधिकारिक छनौटमा परेका थिए। साथै, उत्तमले साउण्ड डिजाइन र मिक्सिङ गरेका कैयन चलचित्रहरूले क्यान्स, बुसान, सन्डान्स, भेनिस, लोकार्नो, टोरन्टो, आइडिएफए र ओल्डेनबर्ग जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा चयन र प्रदर्शन पाएका छन्।
उत्तमले २०२० मा संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित सिनेमा अडियो सोसाइटी (CAS) मा सक्रिय सदस्यता प्राप्त गरेका थिए, जसले उनलाई आफ्नो नामपछि CAS क्रेडिट अधिकार पाउने पहिलो नेपाली साउन्ड डिजाइनर बनाएको छ। साथै, उनले २०२३ र २०२४ मा बर्लिन् अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-बरलिनालेन ट्यालेन्ट्स तथा बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-एसियन फिल्म एकेडेमियामा ‘साउन्ड डिजाइनर फेलो’को रूपमा चयन भएका थिए।