बनेपा – कृष्ण जन्माष्टमीको अवसरमा काभ्रेको बनेपामा आयोजित ‘कन्या पूजा’ कार्यक्रममा भदौ १४ गते रिलिज हुने नेपाली चलचित्र ‘वर एण्ड वधु’की अभिनेत्री आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यले सहभागिता जनाएका छन्। ‘कन्या पूजा सनातन गुठी’ले हरेक वर्ष कृष्णाष्टमीको अवसरमा गर्ने यस पुजामा चलचित्रका कलाकारहरू किरण केसी, रविन्द्र खड्का, मोडल कुसुम शर्मा, र विजु पार्की समेत सहभागी रहेको थियो।
दश हजार भन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न यो पुजामा ‘वर एण्ड वधु’का मुख्य कलाकारहरूले बालिकाहरूलाई कापी र खानेकुरा वितरण गरे। अभिनेत्री आँचल शर्माले पहिलो पटक ‘कन्या पूजा’मा सहभागी हुन पाउँदा अत्यन्त खुसी भएको अनुभव व्यक्त गरिन्। उनले करिब एक घण्टाभन्दा बढी समयसम्म बालिकाहरूलाई कापी र बिस्कुट वितरण गरिन्। नव-नायक विवेक कर्माचार्यले आफूले विगत चार वर्षदेखि यस पूजामा सहभागी भई विभिन्न दान गर्दै आएको बताए।
‘वर एण्ड वधु’को निर्देशन मिलन चाम्सले गरेका छन्। जानुका थापाको लगानीमा बनेको यस चलचित्रमा अमित रिजाल कार्यकारी निर्माता हुन्। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रले प्रेम, रोमान्स, धोका, र कमेडीको कथा प्रस्तुत गर्दछ। ‘कन्या पूजा’को अवसरमा चलचित्रको निर्माण टोलीले १ लाख ११ हजार नगद सहयोग गरेको थियो।