वृत्तचित्र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’को विशेष प्रदर्शनी



काठमाडौं- गन्जला चुलीमा २७ जना महिलाको साहसिक आरोहणको कथा समेटिएको वृत्तचित्र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ सोमबार छाया सेन्टर ठमेलस्थित क्यूएफएक्स सिनेमा हलमा विशेष प्रदर्शनी गरिएको छ। विश्व समावेशी साहसी संस्थाद्वारा आयोजित यस कार्यक्रममा सीमान्तकृत पृष्ठभूमिबाट आएका महिलाहरूको प्रेरणादायी यात्रालाई वृत्तचित्रमार्फत देखाइएको हो।

३४ मिनेट लामो यो वृत्तचित्रमा अनुभवी सगरमाथा आरोही माया गुरुङ र उनको टोलीले दक्षिण-पूर्वी मोहडाबाट पहिलो पटक गन्जला चुलीमा चढ्ने प्रयास र त्यस क्रममा भएका सङ्घर्षहरूलाई सुन्दर ढङ्गले चित्रण गरिएको छ। साथै, सिन्धुपाल्चोक जिल्लाका महिलाहरूले सामना गरेका चुनौतीहरू र तिनले हासिल गरेका विजयलाई समेत प्रस्तुत गरिएको छ।

प्रदर्शनी पश्चात् भएको छलफलमा सिन्धुपाल्चोक वरपरका हिमालहरू र माया गुरुङको पर्वतारोहणमा भएका प्रयासहरूबारे चर्चा गरियो। वरिष्ठ पत्रकार कनकमणि दीक्षितले गुरुङको दिगो पर्यटन, वातावरण संरक्षण र महिला सशक्तीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उपसभामुख इन्दिरा राणाले यस वृत्तचित्रलाई राष्ट्रप्रति निराश हुँदै गएका नेपाली युवाका लागि आशा र प्रेरणाको ज्योति भएको बताइन्। साथै, उनले पर्यटनमा महिलाको सहभागिता र रोजगारीको महत्वलाई पनि जोड दिइन्।

कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पाँच पोखरी थाङपाल गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, प्रा. चिरञ्जीवी खनाल, मोहन श्रेष्ठ, प्रदीप कुमार उदय, हरि थापा, प्रदीप पोखरेल, ओमकृष्ण प्रसाईँ, उत्तम केसी, सुमन रिमाल, पत्रकार द्वय माधवप्रसाद तिवारी र जीवन पराजुली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा महिलाको सशक्तीकरण र पर्वतारोहण क्षेत्रमा गरिएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै नेपाल पर्वतारोहण सङ्घले गन्जला चुली आरोहण गर्ने महिला आरोहीहरूलाई प्रमाणपत्र प्रदान गर्‍यो।

यस वृत्तचित्रलाई लव प्याकुरेलले निर्देशन र सम्पादन गरेका हुन्। उनले यो वृत्तचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्य सान्दर्भिक मञ्चमा प्रदर्शन गर्ने योजना रहेको बताए। रमेश धमला, देवु राजवंशी, र मनमाया तामाङको छायाङ्कन रहेको यस वृत्तचित्रमा भिएफएक्स मानबहादुर थापा र कलर ग्रेडिङ अच्युत बजगाईँले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu