राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण



काठमाडौं। साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ काठमाडौंमा शनिवार एक विशेष समारोहबिच लोकार्पण गरिएको छ। मिलाप मासिकको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहाल थिए। कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, ऊर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय सङ्ग्रौला लगायत विशिष्ट अतिथिहरूले कृतिको विमोचन गरे।

उपन्यास ‘धमिलो प्रकाश’ले नेपाली समाजमा विद्यमान पुरुष प्रधान मानसिकतालाई उजागर गर्ने प्रयास गरेको छ। राधा भण्डारीले यस उपन्यासलाई कोरोना–१९ महामारीको असामान्य परिस्थितिमा रचेको बताउँदै, यो कृतिले नारीमाथि शारीरिक र मानसिक शोषणको विषयलाई उजागर गरेको स्पष्ट पारिन्।

समारोहमा साहित्यकार हरि अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा मिलाप पब्लिकेशनका कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए। स्रष्टा भण्डारीले आफ्नो लेखकीय भनाइ प्रस्तुत गर्दै, आफ्नो पहिलो उपन्यास ‘खुल्ला कैदी’पछिको यो दोस्रो कृति रहेको र यसले समाजमा रहेको विकृति र नारीहरूको पीडालाई सशक्त रूपमा उठाएको जानकारी दिइन्।

कार्यक्रममा प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले उपन्यासको संवाद शैलीलाई सरल र प्रभावशाली भन्दै, समाजमा रहेका विकृतिलाई यस कृतिले साहसका साथ उजागर गरेको बताए। महाकाव्यकार खेमनाथ दाहालले कृतिलाई नारी वेदना र सामाजिक विद्रोहको प्रतीक रहेको टिप्पणी गरे।

कार्यक्रमका सभापति साहित्यकार अधिकारीले ‘धमिलो प्रकाश’लाई शब्द बिम्ब प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको जानकारी गराउँदै, स्रष्टाको भाषा शैलीलाई यथावत् राखेर प्रस्तुत गरिएको बताए। कार्यक्रममा वरिष्ठ कलाकार सङ्ग्रौला, गीतकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, समाजसेवी लीला नेपाल लगायतले शुभकामना मन्तव्य राख्दै राधा भण्डारीलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना व्यक्त गरे।

समारोहमा विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। १५६ पृष्ठमा बाइस भागमा विभाजित यो उपन्यासको मूल्य ४०० रुपैयाँ राखिएको छ। स्रष्टा भण्डारीले कृतिलाई आफ्ना माता पिता भीमादेवी पराजुली र भेषराम पराजुलीमा समर्पण गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu