काठमाडौं। निर्माता अर्जुन कुमारले निर्माण गरेको नेपाली चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर भएको छ। पहिले असोज १७ गते घटस्थापनाको दिन रिलिज गर्ने योजना रहेको यो चलचित्र अब एक हप्ता अगाडि, असोज ११ गते प्रदर्शनमा आउने भएको छ।
निर्माताले आफ्नो फेसबुकमा पोस्टर सेयर गर्दै भनेका छन्, “हाम्रो चलचित्र ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज ११ गतेबाट रिलिज हुँदैछ। हामी तपाईँहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ।”
पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमिल्सिनाको मुख्य भूमिका रहेको छ। यो चलचित्रबाट सीतादेवीसँगै राज पङ्गेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, र शिशिर सिवाकोटीले चलचित्रमा डेब्यु गर्दैछन्।
सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको हो। कार्यकारी निर्माता माधव वाग्ले रहेको यस चलचित्रलाई राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्त रूपमा प्रदर्शन गर्नेछन्।
चलचित्रको कथा लेखनमा सिद्धार्थलाई सरिष्मा पुडासैनीले सहयोग गरेकी छन्। यस चलचित्रको डिजिटल पार्टनर म्युजिक नेपाल र क्रिएटिभ पार्टनर टुनामुना कन्सेप्ट रहेको छ।