‘वर एण्ड वधु’को पूर्वी दौडान, चलचित्रप्रति दर्शकको उच्च उत्साह बढाउने प्रयास



इटहरी: पूर्वी नेपालका विभिन्न जिल्लामा प्रचार-प्रसारका लागि पुगेको चलचित्र ‘वर एण्ड वधु’को टिमले त्यस क्षेत्रका दर्शकलाई उत्साह बढाउने प्रयास गरेको छ। भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यो चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यले बिर्तामोड, धरान, इटहरी, र विराटनगरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो फिल्मको प्रचार गरे।

निर्देशक चाम्सले ‘वर एण्ड वधु’लाई उच्च क्यानभासमा प्रस्तुत गरिएको उत्कृष्ट फिल्मको रूपमा चित्रण गरे, जसको छायाङ्कन नेपालसँगै रोमानिया, फ्रान्स, र स्पेनजस्ता देशमा गरिएको छ। निर्देशक चाम्सले यस फिल्मलाई सम्पूर्ण दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

कलाकार किरण केसीले यस फिल्मलाई आफ्नो करिअरको नयाँ माइलस्टोनको रूपमा लिँदै भने, “मेरो करिअरका सयभन्दा बढी फिल्ममध्ये यो फिल्म १-२ नम्बरमा आउँछ।” किरणको यो दाबीले दर्शकमा फिल्मप्रति थप उत्सुकता जगाएको छ। 

नायिका आँचल शर्माले ‘वर एण्ड वधु’लाई पूर्ण मनोरञ्जन प्याकेजको रूपमा वर्णन गर्दै दर्शकको मन जित्ने आत्मविश्वास व्यक्त गरिन्। त्यस्तै, नव-नायक विवेक कर्माचार्यले आफू यस फिल्मबाट नेपाली सिनेक्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे। निर्मात्री जानुका थापाले फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेकाले यसमा लगानी गरेको बताइन्। 

‘वर एण्ड वधु’को ट्रेलर र गीतले पहिले नै दर्शकको सकारात्मक प्रतिक्रिया पाइसकेको छ। मोफसल टुरका क्रममा विभिन्न कलेजका विद्यार्थीहरूले फिल्मको प्रचार सामग्रीलाई अत्यन्त रुचाएको र फिल्मलाई हलमा गएर हेर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu