काठमाडौं। किरण दाहाल नेपाली चलचित्र उद्योगमा एक्सन निर्देशनको क्षेत्रमा एक विशेष स्थान बनाउने पहिलो महिला हुन्। उनले सारंक,’ ‘तरङ्ग,’ ‘कुइनेटो,’ ‘अगापे प्रेम,’ ‘बाह्रमासे,’ ‘पसले,’ ‘चिठ्ठी,’ र ‘नमेटिने घाउ’ जस्ता चलचित्रहरूमा एक्सन निर्देशन गरेकी छन्। यही साता उनले एक्सन निर्देशन गरेको चलचित्र ‘नमेटिने घाउ’ सार्वजनिक प्रदर्शनमा आएको छ। उनको प्रेरणादायी एक्सन निर्देशनको यात्रा, लिङ्गभेदका समस्या तथा महिलालाई गरिने विश्वासका प्रसङ्गहरूमा आधारित रही गरिएको कुराकानीको सम्पादित अंश:
१. नेपालकी पहिलो र एक मात्र महिला एक्सन निर्देशकका रूपमा तपाईँलाई यो क्षेत्रमा करियर बनाउने प्रेरणा के थियो?
एक्सन निर्देशनको क्षेत्रमा प्रवेश गर्ने मेरो चाहना चलचित्रहरूमा एक्सन निर्देशन गरिरहेका योगेन्द्र श्रेष्ठ र मुकुन्द थापाको काम देखेर बढेको हो। नेपालमा महिलाहरूले यस क्षेत्रमा काम नगरेको हुँदा मलाई केही फरक र चुनौतीपूर्ण काम गर्न मन लाग्यो। यही सोचले मलाई प्रेरित गर्यो र मैले एक्सन निर्देशक योगेन्द्र श्रेष्ठ र मुकुन्द थापासँग प्रशिक्षण लिएर आफ्नो यात्रा सुरु गरेँ।
२. महिला एक्सन निर्देशकका रूपमा तपाईँले सामना गर्नुभएको प्रमुख चुनौतीहरू के थिए, र तिनको सामना कसरी गर्नुभयो?
प्रत्येक क्षेत्रमा महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण हुन्छ, र चलचित्र क्षेत्र यसको अपवाद होइन। एक्सन निर्देशनजस्तो शारीरिक र मानसिक क्षमता आवश्यक पर्ने क्षेत्रमा मेरो क्षमतामा विश्वास दिलाउन आरम्भिक दिनहरूमा निकै गाह्रो भएको थियो। ‘महिला पनि एक्सन निर्देशन गर्न सक्छन्’ भन्ने कुरालाई स्विकार्न धेरैलाई कठिनाइ भयो। तर, मैले दृढ सङ्कल्प गरेँ कि म कुनै पनि चुनौतीको सामना गरेर एक्सन निर्देशकको रूपमा आफ्नो स्थान बनाउँछु। मेरो लगनशीलता र प्रतिबद्धता देखेर बिस्तारै चलचित्रहरूमा अवसरहरू आउन थाले। यद्यपि म अहिले काम पाइरहेकी छु, तर नेपाली समाजमा विद्यमान महिला र पुरुष बिचको विभेदलाई मैले पनि अनुभव गरेकी छु। तैपनि, जस्तोसुकै चुनौती र अवरोध आए पनि, म दृढताका साथ अगाडि बढ्न र आफ्नो लक्ष्य प्राप्त गर्न प्रतिबद्ध छु।
३.पुरुष प्रधान क्षेत्रको रूपमा मानिने एक्सन निर्देशनमा काम गर्दा तपाईँले लिङ्गभेदको कस्तो अनुभव गर्नुभएको छ? यदि छ भने, यसबाट बाहिर निस्कन के उपाय अपनाउनुभयो?
लिङ्ग भेद लगभग हरेक क्षेत्रमा देख्न सकिन्छ, र हाम्रो चलचित्र क्षेत्र पनि यसबाट मुक्त छैन। पुरुषहरूको प्रभुत्व रहेको एक्सन निर्देशनमा काम गर्दा मैले पनि लिङ्गभेदको महसुस गरेँ। कतिपयले महिलाहरूलाई शारीरिक रूपमा कमजोर ठानेर एक्सन निर्देशनजस्तो चुनौतीपूर्ण काममा सक्षम देखेनन्। यस कारण, मलाई आफ्नो क्षमताको प्रमाण दिन बारम्बार सङ्घर्ष गर्नुपर्यो। तर मैले यसबाट बाहिर निस्कने उपाय भनेको आफ्नो कामले बोल्नु हो भन्ने निष्कर्षमा पुगेँ। महिलाहरू पनि पुरुषहरूसरह काम गर्न सक्छन् भन्ने कुरा देखाउन म पूर्ण आत्मविश्वासका साथ काममा लागिरहेँ। मैले आफ्नो काममा उत्कृष्टता देखाएरै अन्यायपूर्ण सोचाइलाई परिवर्तन गर्न सकिन्छ भन्ने प्रमाणित गर्न प्रयास गरिरहेकी छु। जबसम्म चलचित्र क्षेत्रका दिग्गजहरूले महिलाहरूको क्षमतालाई समान रूपमा मूल्याङ्कन गर्दैनन्, तबसम्म लिङ्गभेदको समस्या रहिरहन्छ। तर मैले सधैँ आफ्नो काममार्फत यो मानसिकतामा परिवर्तन ल्याउन प्रयास गर्दै आएको छु।
४. महिला एक्सन निर्देशकप्रति रहेको पूर्वाग्रहलाई तपाईँले कसरी नकार्नुभयो?
पूर्वाग्रह भनेको नयाँ व्यक्तिहरूमात्र होइन, दिग्गजहरूसमेतले राख्ने एक पुरानो चलन हो। तर मैले यी पूर्वाग्रहलाई आफ्नो आत्मविश्वास र दृढ सङ्कल्पबाट नकार्ने प्रयास गरिरहेकी छु। म कछुवाको गतिमा भए पनि आफ्नो बाटोमा निरन्तर अघि बढिरहेकी छु। मलाई यो विश्वास छ कि आज मलाई कमजोर ठान्नेहरू वा मैले यो काम गर्न सक्दिन भन्नेहरू एक दिन मेरो कामको मूल्य अवश्य बुझ्नेछन्। मैले आफ्नो कार्यमा निरन्तरता र उत्कृष्टता देखाएर नै यो पूर्वाग्रहलाई तोड्न सकिन्छ भन्ने कुरा मनमा राखेर काम गरिरहेकी छु।
५. तपाईँको टिमका पुरुष सदस्यहरूले कसरी सहयोग गर्छन्?
मेरो टिमका पुरुष सदस्यहरूले मलाई र मेरो कामलाई विश्वास गर्दै निरन्तर सहयोग गरेका छन्। उनीहरूले मलाई प्रोत्साहन दिँदै आवश्यक अवसरहरू प्रदान गरेका छन्, जसले गर्दा म आफ्ना क्षमताहरू प्रदर्शन गर्न सक्षम भएको छु।
६. भविष्यतर्फ हेर्दा, तपाईँका लक्ष्यहरू के छन्?
मेरा भविष्यका लक्ष्य एउटा सफल द्वन्द्व निर्देशकका रूपमा नेपाली चलचित्र क्षेत्रमा स्थापित हुनु छ। यसका साथै, म नयाँ कलाकारहरूलाई द्वन्द्वको प्रशिक्षण दिन इच्छुक छु।