मगर समुदायको गाथा ‘सोरठी’ नाटक प्रिमियर, शिल्पीमा आजबाट मञ्चन सुरु



काठमाडौं। बिहीबार साँझ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘सोरठी’को प्रिमियर गरिएको छ। काउछा क्रियशनको प्रस्तुति तथा बिम्ब आर्ट्स र हलेसि डेकोरको सहकार्यमा मञ्चन हुन गइरहेको यो नाटक सञ्जय काउछाको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’मा आधारित छ।

नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व मन्त्री धनराज गुरुङ प्रमुख अतिथि रहेको प्रिमियरमा मगर समुदायका विशिष्ट व्यक्तित्वहरू, रङ्गकर्मीहरू तथा पत्रकारहरूको उपस्थिति थियो।

‘सोरठी’ नाटकले मगर समुदायको परम्परागत कथा र संस्कारलाई जीवन्त बनाएको छ। नाटकको लेखन सञ्जय काउछा मगरले गरेका हुन् भने परिकल्पना र निर्देशनमा सञ्जय काउछा मगर र सङ्गीता थापा मगरले सँगै काम गरेका छन्। यम ल्हायो मगर र प्रमोद खड्काले निर्माण संयोजनमा हातेमालो गरेका यस नाटकमा कबिता आले, पुनम लक्ष्मी मगर, हेमन्त लामिछाने, आरुष जङ्ग सारू, रमिला राई, अस्मिता बुढा मगर, मानबहादुर राई, खुशी सुनुवार, बिशाल पुलामी, रमिला मोक्तान, निस्सोम मगर, गङ्गा मगर, सुनिल राई, प्रविन मगर र सञ्जीत थुलुङ राईले आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।

प्रमुख अतिथिको रूपमा सहभागी पूर्व मन्त्री गुरुङले नाटक हेरेपछि आफ्नो अनुभव साझा गर्दै यो नाटक एक पटक हेरेर नअघाएको बताए। उनले भने, “सोरठी एक पटक हेरेर अघाएको छैन। म फेरी सपरिवार यो नाटक हेर्न आउनेछु। यो नाटकलाई राम्रो प्रचार गर्न सकेमा लामो समयसम्म पक्कै चल्छ। कलाकारहरूको काम देखेर म छक्क परेँ, यस्तो पनि नाटक हुन सक्छ र? भन्ने प्रश्न मनमा छ। यो नाटक मात्र होइन, गजबको इतिहास हो।”

‘सोरठी’ नाटक भदौ ७ गते शुक्रवारदेखि भदौ ३० गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ। मगर समुदायको सांस्कृतिक धरोहरलाई मञ्चमा उतार्दै गरिएको यो प्रयासले दर्शकलाई मगर जातिको पुरातन कथा र गीतसङ्गीतसँग परिचित गराउँछ।

निर्देशक सञ्जय काउछा मगरका अनुसार, “यो नाटक मगर समुदायको गाथा हो, जुन शताब्दीऔँ देखि गाइँदै, नाचिँदै र सुनिँदै आइरहेको छ।” निर्देशक सङ्गीता थापा मगरले आफ्नो समुदायको संस्कार र संस्कृति मिहिन ढङ्गले केलाउन पाएकोमा गर्व महसुस गर्दै नाटकमा अनेक आयामहरू भेट्टाएको र सिकेको अनुभव सुनाइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu