दुई नेपाली चलचित्रहरू ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ एकसाथ रिलिज



काठमाडौं। आज नेपालभर दुई महत्त्वपूर्ण नेपाली चलचित्रहरू ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ एकसाथ रिलिज भएका छन्।

‘सतीदेवी’ लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बनेको एक शक्तिशाली चलचित्र हो, जसले लैङ्गिक समानताको पक्षमा सशक्त सामाजिक सन्देश दिन सफल भएको छ। मङ्गलवार साँझ काठमाडौँको बिग मुभिजमा भएको प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, सन्देश र कलात्मक पक्षको उच्च प्रशंसा गरेका थिए।

यसमा मलिका महतले मुख्य भूमिका निर्वाह गरेकी छन्, जहाँ उनले लमजुङ जिल्लाकी ग्रामीण युवती सतीदेवी अधिकारीको जीवित अभिनय प्रस्तुत गरेकी छन्। यसमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी, हर्षिका ओली र सृजना अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्माण दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले गरेका हुन्।

त्यसै गरी, ‘नमेटिने घाउ’ रमित ढुङ्गानाको निर्देशनमा तयार भएको चलचित्र हो, जसले एसिड आक्रमणका सिकार बनेकाहरूको पीडा र समाजमा यसप्रति सचेतना फैलाउने उद्देश्य लिएको छ। यो चलचित्र एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ र यसले ३३ जना पीडितहरूको कथा समेटेको छ।

यसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, र सांसद ज्ञानेन्द्र शाहीले पनि केमियो भूमिकामा अभिनय गरेका छन्। साथै, मुस्कान खातुन, प्राप्ति पौडेल, सुरवीर पण्डित, रचना गौतम लगायतका कलाकारहरूले अभिनय गरेका छन्। यसको स्क्रिप्ट शिवम अधिकारीले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu