‘एक्टर’ को पोस्टर सार्वजनिक: प्रदीप खड्काको पाँच भिन्न रूप



काठमाडौं। बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर’ को पोस्टर सार्वजनिक भएको छ। प्रदीप खड्का अभिनीत यस चलचित्रको पोस्टरले खड्काको पाँच भिन्न रूपलाई देखाएको छ, जसले दर्शकहरूलाई चलचित्रमा उनी निभाएको चरित्रको बहु आयामिकता झल्काउँछ।

पोस्टरमा प्रमुख तस्बिरमा खड्का हातमा प्लास्टर र टाउकोमा ब्यान्डेज बाँधिएको अवस्थामा देखिन्छन्, जबकि अन्य तस्बिरहरूमा उनी पाइलट, ढाका टोपी र दौरा लगाएका, पञ्जा र क्यापमा सजिएका र साधारण भेसभुसामा प्रस्तुत छन्। यी तस्बिरहरूले उनको चरित्रको विविध पक्षलाई दर्साउँछ। यस पोस्टरको डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।

निर्माता थमन कुमार भण्डारीले पोस्टर सार्वजनिक गर्दै भने, “करिब १२ महिनाको अथक मेहनत पछि आज हाम्रो चलचित्र ‘एक्टर’ को पहिलो कन्टेन्ट स्वरूप पोस्टरलाई तपाईँहरू माझ पस्केका छौँ। यो यात्रामा यहाँसम्म आउनमा थुप्रै व्यक्तिहरूको साथ, सहयोग, र समर्थन रहेको छ, उहाँहरू सबै प्रति हृदयदेखि धन्यवाद दिन चाहन्छौँ।”

‘एक्टर’मा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा र दिव्या रायमाझी मुख्य भूमिकामा रहेका छन्। यो चलचित्र तिहारको अवसरमा कार्तिक १५ गते लक्ष्मीपूजाको दिन विश्वभर रिलिज हुने तयारीमा छ।

दिव्या रायमाझीको अभिनय यात्रा यसै चलचित्रबाट सुरु हुँदैछ। सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको छ।

चलचित्र अधृत फिल्म्सको प्रस्तुतिमा मोती फिल्मस्को निर्माणमा बनेको हो। चलचित्रको निर्देशन राजन भुसालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu