रोयल भीमसेनले कोरेको ‘आँखा’



काठमाडौं। रोयल भीमसेनले कोरेको फिल्म ‘आँखा’को पोस्टरले गहिरो भावना र विचारको प्रस्तुति गरेको छ। पोस्टरको पृष्ठभूमिमा चम्किलो आकाश देखिन्छ, जसले जीवनका आशा र सपनाहरूको महसुस गराउँछ। तर, यो आशा एउटा अँध्यारो प्रकाशले छेकेको छ, जसले एक विशेष अर्थ थप्छ।

झोपरपट्टी र सूर्यमुखी फूलको बिचमा उभिएका दुई पात्रहरूलाई रोयलले जीवनका रङ्गिन सपना देख्न अभिप्रेरित गरेका छन्। यिनीहरू श्याम श्वेत आँखाबाट संसारलाई हेर्दैछन्, तर उनीहरूको सपनामा रङ्गिन फूलहरू रोपिएका छन्।

रोयल भन्छन्, “यसको सौन्दर्य नै फूल हो।” उनका लागि यो केवल दृश्य मात्र होइन, बरु पात्रहरूको जिजीविषा र आशा बोकेको एउटा गहिरो कथा हो। सूर्यमुखी फूलहरूको माझमा उभिएका दुई पात्रहरूले पोस्टरलाई एउटा विशेष अर्थ दिएका छन्। यिनीहरूको आँखा मार्फत उनीहरूको सपनाहरूको झलक पाइन्छ।

शनिवार पोस्टर सार्वजनिक भएपछि ‘आँखा’की कलाकार अस्मिता लामिछानेकी साथीले खुसी हुँदै भनिन्, “यो बनाउनेलाई मेरो तर्फबाट सलुट भनिदिनु।”

यो प्रशंसा रोयल भीमसेनका लागि कुनै नयाँ कुरा होइन। उनले दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘चिसो मान्छे’को पोस्टर बनाउँदा नै धेरै तारिफ पाएका थिए। त्यति बेला पोस्टरले नै फिल्मको चर्चा चुलीमा पुर्‍याएको थियो।

त्यसयता, ‘प्रकाश’, ‘म राजेश हमाल’, ‘कौसिद’ र अहिले प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको यात्रा गरिरहेको ‘साम्बला’ जस्ता फिल्महरूको पोस्टर डिजाइनमा पनि उनले आफ्नो कलाको परिचय दिइसकेका छन्। पछिल्लो समय उनले ‘महापुरुष’, ‘महाजात्रा’, ‘द रेड सुटकेस’ र ‘पुजार सार्की’ जस्ता फिल्महरूको पोस्टर पनि तयार पारेका छन्। अहिले प्रदर्शनको प्रतीक्षामा रहेका फिल्महरू ‘खुस्मा’, ‘एक्टर’, ‘ऊनको स्विटर’, ‘जन्ते बाख्रो’ र ‘रेसम फिलिली’को पोस्टर पनि रोयलकै जिम्मामा छन्।

उनको कम्पनी ट्राइडेन्ट कन्सेप्टले पोस्टर डिजाइन मात्र हैन, फिल्म घोषणादेखि रिलिजपछि सम्मको पब्लिसिटीको सम्पूर्ण जिम्मा लिन्छ। यो कम्पनीले पब्लिसिटी डिजाइन, सोसल मिडिया प्रमोसन, पेज म्यानेजमेन्ट र इभेन्ट कोअर्डिनेसन लगायतका जिम्मेवारी लिएर फिल्म निर्माण टिमलाई सहज बनाउँछ। रिलिजको तयारीमा रहेको फिल्म ‘बेहुली फर्म मेघौली’को पब्लिसिटी पनि ट्राइडेन्ट कन्सेप्टले नै सम्हालिरहेको छ।

फिल्मका पोस्टरहरूमा केवल कलाकारको टाउको देखाएर दर्शकलाई हलसम्म तान्ने समय अब बितिसकेको छ। यद्यपि, आज पनि कलाकारहरूले आफ्नो टाउको पोस्टरमा अटाएको देख्न खोज्छन् र निर्माताहरूले कलाकारको माग अनुसार पोस्टर तयार गराउन प्रयास गर्छन्। तर, रोयल भने आफ्नो कलात्मक अभिव्यक्ति देखाउन नपाए प्रोजेक्टहरू नै लिँदैनन्।

“जहाँ आफ्नो कला देखिन्न, त्यसमा कामै किन?” यो सोचले गर्दा उनले कैयन प्रोजेक्ट बिचैमा छोडेका छन्। उनी भन्छन्, “आज-भोलि नै पोस्टर तयार गरिदेऊ भन्ने कतिपय प्रोजेक्ट बिचैमा छोड्नुपर्छ। कम्तीमा आफ्नो पनि त कला देखिनुपर्छ।”

फिल्म ‘आँखा’को पहिलो पोस्टरमा कलाकारका टाउका अटाएका थिए। पोस्टर बनेपछि रोयलले सोचे, “मलाई चित्त बुझ्दो बनाउन अझै बाँकी छ।” ‘आँखा’को कथाले उनलाई रूपमा तान्यो र कथालाई न्याय दिने पोस्टर बनाउन ४ महिनासम्म मन्थन गरे। अन्ततः एक दिन उनले पात्रहरूको आँखाबाट देखिने संसारलाई आफ्नो आँखाबाट हेर्ने प्रयास गरे र त्यो क्षणमा पोस्टरको अन्तिम रूप तयार भयो।

फिल्मका निर्देशक जोन योञ्जनले पोस्टर देखेपछि उत्साहित हुँदै भने, “तपाईँले मास्टरपिस बनाउनु भयो।” पछिल्लो ८ वर्षको अवधिमा रोयलले दर्जनौँ पोस्टर डिजाइन गरेका छन्। तीमध्ये केहीमा कला भरिएको छ, त केहीमा त्यो कला छुटेको छ। तर, उनी सधैँ उत्कृष्टता खोजिरहन्छन्। उनले चाहन्छन् कि उनका पोस्टरहरूले हरेक दर्शकलाई शीतलता दिन सकोस र हरेकले भनुन्, “कस्तो मास्टरपिस!”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu