मालदिभ्समा नेपाली फिल्मको पहिलो रिलिज ‘छक्का पञ्जा ५’, नेप-फिल्म्सले खोज्यो नयाँ बजार



काठमाडौं। दक्षिण एसियाली टापु मुलुक मालदिभ्समा नेपाली फिल्मको लागि नयाँ बजारको खोजी गर्दै नेप-फिल्म्सले आफ्नो पहिलो कदम अघि बढाएको छ। रमेश ढकालको नेतृत्वमा रहेको नेप-फिल्म्सले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अभियानअन्तर्गत मालदिभ्समा पहिलो पटक फिल्म रिलिज गर्न लागेको हो। 

कात्तिक १ गते दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी स्टारर फिल्म ‘छक्का पञ्जा ५’ मालदिभ्सका दुई प्रमुख हलहरू, राजधानी माले र हलह्युमेल टापु सहरस्थित स्वाक सिनेमामा प्रदर्शन गरिने भएको छ। यो प्रदर्शनले नेपाली फिल्मको लागि मालदिभ्समा नयाँ ढोका खोल्दै नियमित नेपाली फिल्म प्रदर्शनको सुरुवात गर्ने तयारीमा रहेको नेप-फिल्म्सले जनाएको छ। तथ्याङ्क अनुसार, हाल मालदिभ्समा ५ हजारभन्दा बढी नेपाली नागरिक कार्यरत छन्, जसलाई लक्षित गर्दै यो कदम चालिएको हो। 

रमेश ढकालले यस पहललाई नेपाली फिल्मको लागि नयाँ बजारको खोजीको महत्त्वपूर्ण प्रयासको रूपमा हेरेको बताएका छन्। उनले मालदिभ्सजस्तै अन्य नयाँ बजारहरूमा समेत प्रवेश गर्न सधैँ अग्रसर रहेको जनाए।

नेप-फिल्म्सले नै मध्यपूर्वका मुलुकहरू र मलेसियामा ‘छक्का पञ्जा ५’ को प्रदर्शनको योजना बनाएको छ। दिपाश्री निरौला निर्देशित यो फिल्म नेपाल र अमेरिकामा दसैँको फूलपातीको दिन असोज २४ गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu