गायक हिमाल सागरको साङ्गीतिक यात्रा: सङ्घर्ष, सफलता र मातृभूमिप्रतिको प्रेम



टोरोन्टो, क्यानडा: क्यानडास्थित मान्भी स्टुडियोजको चर्चित पोडकास्ट “नेपाली नेक्सस विथ विधान”ले यस पटक नेपाली सङ्गीत जगतका लोकप्रिय गायक हिमाल सागरको विशेष अन्तर्वार्ता प्रसारण गरेको छ। अन्तर्वार्तामा सागरले आफ्नो बाल्यकालदेखि नै सङ्गीतप्रतिको गहिरो रुचि, सङ्घर्ष र गायक बन्ने चाहनाको अद्वितीय यात्राका बारेमा कुरा गरेका छन्। 

सागरले आफ्ना प्रारम्भिक दिनहरू सम्झँदै, सानै उमेरदेखि नै सङ्गीतमा आफ्नो विशेष मोह रहेको खुलासा गरे। उनले आफ्नो साङ्गीतिक यात्राको सुरुवातमा सामना गर्नुपरेका चुनौतीहरूको चर्चा गर्दै भने, “सङ्गीत मेरो लागि मात्र एउटा पेसा होइन, यो मेरो आत्माको आवाज हो।” उनका लागि सङ्गीत भनेको साधारण काम मात्र नभएर जीवनलाई अर्थ दिने माध्यम थियो।

उनको करियरमा ‘न मैले लेखेँ, न ऊनले लेखिन्’ गीतले एक महत्त्वपूर्ण मोड ल्याएको थियो। सागरले यस गीतलाई जीवनको ठुलो उपलब्धि मान्दै भने, “यो गीतले मलाई साङ्गीतिक यात्रामा नयाँ उचाइ प्रदान गर्‍यो। तर, मैले महसुस गरेँ कि धेरै गाउनु मात्र सफलता होइन, गुणस्तरीय सृजना गर्नु नै सच्चा सफलता हो।”

अन्तर्वार्तामा सागरले नेपाली कलाकारहरूको आर्थिक समस्या र विदेशमा बस्न बाध्य हुने परिस्थितिहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “कलाकारहरूलाई धेरै पटक आर्थिक समस्याले बिदेसिन बाध्य बनाउँछ, तर मातृभूमिप्रतिको प्रेम कहिल्यै कम हुँदैन।” 

उनले विदेश भ्रमणको क्रममा पनि आफ्नो देशप्रतिको माया र समर्पण सधैँ अटल रहेको बताए। विशेष गरी क्यानडामा रहेका नेपाली विद्यार्थीहरूको चुनौतीहरूबारे बोल्दै सागरले ती विद्यार्थीहरूले सामना गरिरहेका कठिनाइहरूको उल्लेख गरे र उनीहरूको सङ्घर्षलाई सम्मान गरे।

सार्वजनिक व्यक्तित्वहरूको व्यक्तिगत जीवनमा अनावश्यक टिप्पणी नगर्न अनुरोध गर्दै सागरले यो कुरामा जोड दिए कि कलाकारहरूको निजी जीवनलाई आदर गर्नु आवश्यक छ। उनले भने, “हामी कलाकारहरू पनि मानवीय भावना र समस्याहरू लिएर बाँचिरहेका छौँ, त्यसैले हाम्रो निजी जीवनलाई पनि सम्मान मिल्नुपर्छ।”

अन्तर्वार्ताको अन्त्यमा सागरले नेपाली कला, संस्कृति, साहित्य र चलचित्रको प्रवर्द्धनमा मान्भी स्टुडियोजको योगदानको खुलेर प्रशंसा गरे। उनले भने, “नेपालको सांस्कृतिक धरोहरलाई विश्व मञ्चमा चिनाउन मान्भी स्टुडियोजले खेलेको भूमिका अत्यन्तै सराहनीय छ।” 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu