भारतीय क्रिकेटर युवराज सिंहको जीवनीमा चलचित्र बन्ने



काठमाडौं। क्रिकेटका महान् खेलाडी युवराज सिंहको जीवनलाई ठुलो पर्दामा उतार्ने तयारी सुरु भएको छ। बलिउडका चर्चित निर्माता भूषण कुमार र रवि भागचन्दकाले युवराज सिंहको जीवनमाथि आधारित बायोपिक निर्माण गर्ने घोषणा गरेका छन्।

भारतीय चलचित्रका ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरे अनुसार अहिलेसम्म शीर्षक तय नगरिएको यो बायोपिकले युवराज सिंहको अद्वितीय क्रिकेट यात्रा, मैदानमा गरेको योगदान र उनले सामना गरेका चुनौतीपूर्ण सङ्घर्षहरूलाई पर्दामा उतार्नेछ। युवराज सिंहको करियर मात्रै नभई, क्यान्सरजस्तो गम्भीर रोगसँगको उनको साहसी लडाइँ र त्यो जितेर पुनः क्रिकेट मैदानमा फर्किएको उनको प्रेरणादायी कथालाई पनि बायोपिकमा समेटिनेछ।

भूषण कुमार आफ्नो निर्माण कम्पनी टी-सिरिजमार्फत बलिउडका ठुला प्रोजेक्टहरूमा संलग्न छन् र रवि भागचन्दका पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको बायोपिक ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ निर्माणका लागि चर्चित छन्।

बायोपिकको निर्देशन कसले गर्ने, कलाकार को को रहने र यसको छायाङ्कन कहिले सुरु हुनेछ भन्ने कुराहरू हालसम्म गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu