सङ्गीत उद्योग सङ्घका अध्यक्ष मगरको कार्यले सङ्गीतकर्मीको शिर निहुरियो: बद्री पाण्डे



काठमाडौं: ‘नेपाल सङ्गीत उद्योग सङ्घ’का अध्यक्ष सूर्य मगरले साङ्गीतिक कार्यक्रमको नाममा गैर-कलाकारलाई मोटो रकम लिएर अस्ट्रेलिया लैजान डिल गरेको भिडियो बाहिरिएपछि नेपाली सङ्गीत क्षेत्रमा सनसनी फैलिएको छ। एक इतिहास बोकेको पुरानो संस्थाका अध्यक्ष आफैँ यस्तो कार्यमा संलग्न रहेको विषयले चर्चा पाइरहेका बेला ‘म्युजिक प्रोड्यूसर एसोसिएसन नेपाल’का अध्यक्ष तथा ‘सङ्गीत रोयल्टी सङ्कलन समाज’का महासचिव बद्री पाण्डेले यसप्रति कडा आपत्ति जनाएका छन्।

विभिन्न कारणले आफू लगायत एक सय बढी सङ्गीत व्यवसायीहरूले सो संस्था छोडी नयाँ संस्था खोल्नुपरेको दृष्टान्त दिँदै पाण्डेले भने, “सूर्य मगरजीले सङ्गीत उद्योग सङ्घलाई एक किसिमले कब्जा गर्नु भएको थियो। उहाँले संस्थालाई कब्जा गरेपछि हामी सङ्गीतमा लगानी गर्ने निर्माताहरूले हाम्रो हक-हितका लागि काम नहुने ठहर गर्‍यौँ। त्यसैले एक सयभन्दा बढी सङ्गीत व्यवसायीहरू मिलेर ‘म्युजिक प्रोड्यूसर एसोसिएसन नेपाल’ नामक नयाँ संस्था स्थापना गर्‍यौँ, जसको अध्यक्ष म छु।”

पाण्डेले यस घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने जनाउँदै भने, “यो विषयमा निष्पक्ष छानबिन गरी सूर्य मगर दोषी ठहरिए कानुनी कारबाही हुनुपर्छ। यस विषयमा हामी सरकारसँग कडा कारबाहीको माग गर्दछौँ। सङ्गीत क्षेत्रको शिर निहुराउने कुनै पनि गतिविधिप्रति हामी कडा आपत्ति जनाउँछौँ।” मगरको कार्यले नेपाली सङ्गीत उद्योगको शिर निहुरिएको भन्दै पाण्डेले यस विषयमा सम्बन्धित ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

यस विषयमा हिमालय टिभीले ‘नेपाल सङ्गीत उद्योग सङ्घको धन्धा, ‘कलाकार’ बनाउँदै मानव तस्करी’ शीर्षकमा एक रिपोर्ट प्रसारण गरेको छ। सो रिपोर्टमा मगरले संस्थाको ऐतिहासिक महत्वको आडमा गैर-कलाकारलाई कलाकार वा पत्रकारको रूपमा अस्ट्रेलिया पठाउने डिल गरिरहेको अडियो र भिडियो सार्वजनिक गरिएको छ। रिपोर्टमा मगरले आफ्नो व्यक्तिगत खातामा मोटो रकम जम्मा गर्न भनेको देखाइएको छ।

मगरले गोपाल योञ्जन, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठजस्ता सम्मानित व्यक्तित्वहरूले स्थापना गरेको संस्थाको नाममा नक्कली कागजात तयार पारी भिसा पक्का गराउने भन्दै अस्ट्रेलियामा मानिस पठाउने डिल गरेको कुरा रिपोर्टमा प्रस्ट देखिन्छ। मगरले भिसा लागेपछि बिस लाख रुपैयाँ दिनुपर्ने कुरा बताउँदै यस कार्यको ग्यारेन्टी दिने गरेको अडियो पनि प्रसारित भएको छ।

सो भिडियोमा एम्बेसीले गायक रामकृष्ण ढकाललाई नचिन्ने भन्दै “तपाईँलाई नै सेलिब्रेटी बनाउने हो” भनेर भनिरहेको देखिन्छ, जसले यो सम्पूर्ण प्रक्रिया नक्कली कागजातको भरमा चलिरहेको स्पष्ट हुन्छ। मगरले उताबाट (अस्ट्रेलियाको आयोजक) खातामा सबै पैसा जम्मा गरेर राख्दा हुन्छ भन्ने ग्यारेन्टी दिएको बताएका छन्।

हेर्नुहोस् हिमालय टिभीले प्रसारण गरेको रिपोर्ट:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu