३० वर्षपछि चलचित्रमा दिग्गजहरूको पुनर्मिलन, नरसिंहामा ‘ट्विस्ट’का लागि महत्त्वपूर्ण



काठमाडौं: नेपाली चलचित्रका दुई दिग्गज कलाकार राजेश हमाल र सरोज खनाल वर्षौँपछि पुनः एउटै पर्दामा देखिने तयारीमा छन्। निर्देशक दिवाकर भट्टराईको आगामी फिल्म ‘नरसिंहा अवतार’ मा यो ऐतिहासिक पुनर्मिलनको योजना बनेको खबरले नेपाली चलचित्र प्रेमीहरूमा उत्साह थपिएको छ।

दिवाकर भट्टराईले यो चलचित्रमा हमाल र खनाल दुवैको संलग्नता पुष्टि गरिसकेका छन्। राजेश हमालले आठ वर्षको अन्तरालपछि यो चलचित्रमार्फत ठुलो पर्दामा फर्किँदै छन्। यद्यपि, हमालको भूमिका प्रमुख रहेको खुलासा भए पनि सरोज खनालको भूमिकाबारे भने निर्माताहरूले अझै गोप्यता राखेका छन्। खनाल, जो लामो समयदेखि चरित्र अभिनेता रूपमा सक्रिय छन्, यस पटक पनि विशेष भूमिकामा देखिने अपेक्षा छ।

हमाल र खनालले सँगै अभिनय गरेको पछिल्लो चलचित्र ‘चाहना’ थियो, जुन वि.सं. २०५२ सालमा रिलिज भएको थियो। त्यसपछि खनाल अमेरिका गए, जहाँ उनले लामो समय बसोबास गरे। तर, अमेरिका बसाइको क्रममा पनि यी दुईले सांस्कृतिक कार्यक्रमहरूमा सहकार्य जारी राखे। सन् २०१० देखि लगातार चार वर्षसम्म अमेरिकामा आयोजना भएका गीति नाटकहरूमा उनीहरूले एउटै स्टेजमा अभिनय गरेका थिए।

सरोज खनालले त्यो समयलाई सम्झँदै भने, “हामीले अमेरिकामा सँगै धेरै पटक स्टेजमा काम गरेका छौँ। त्यति बेला करिश्मा मानन्धर, जल शाह, पूजा चन्दलगायतका कलाकार पनि हाम्रो साथ हुन्थे।” हमाल र खनालले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता करिब आधा दर्जन चलचित्रमा एकसाथ अभिनय गरेका छन्। ‘चाहना’ रिलिजको झन्डै ३० वर्षपछि राजेश हमाल र सरोज खनालले पुनः चलचित्र’नरसिंहा अवतार’मा सहकार्य गर्दैछन्।

निर्देशक दिवाकर भट्टराईका अनुसार ‘नरसिंहा अवतार’ मा यी दुई लिजेन्डरी कलाकारहरूले निभाउने भूमिकाहरू चलचित्रको कथा र ‘ट्विस्ट’ का लागि महत्त्वपूर्ण छन्। “उहाँहरूका पात्रहरू बिचको ‘केमेस्ट्री’ नै चलचित्रको मुख्य आकर्षण हुनेछ,” भट्टराईले बताए, “यो मिलन केवल पुराना सहकर्मीलाई पुनः सँगै काम गराउने उद्देश्यले मात्र होइन, कथामा उहाँहरूको भूमिकाको गहिराइले पनि प्रेरित भएको हो।”

यस चलचित्रमा राजेश हमाल र सरोज खनालसँगै नीति शाह, सनिशा भट्टराई र नवोदित कलाकार दीपा शाही पनि देखिनेछन्। ‘नरसिंहा अवतार’को छायाङ्कन भदौदेखि सुरु हुने तयारी छ।

राजेश हमाल र सरोज खनालको यो पुनर्मिलनले नेपाली चलचित्रका पुराना दिनहरूको स्मरण गराउँदै नयाँ पुस्तालाई पनि उत्साहित र प्रेरित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu