काठमाडौं। दुबईमा आगामी भाद्र १ गते (अगस्ट १७) ‘सिएनए इन्टरनेशनल अनर अवार्ड’ आयोजना गरिने भएको छ। यो अवार्ड समारोह सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टको सहकार्यमा ग्रिन नेपाल ट्राभल्सको साझेदारीमा सम्पन्न हुनेछ।
रघुनाथ सापकोटाको अध्यक्षतामा हुने यस अवार्ड समारोहले नेपाली कला, संस्कृति, चलचित्र, पर्यटन र पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिने छ। चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय महासचिव समेत रहेका सापकोटाका अनुसार, यी व्यक्तित्वहरूको योगदानलाई मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
दुबईको क्लब एसके सेभेनमा आयोजना हुने यस अवार्ड समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार, चलचित्रकर्मी र पत्रकारहरूको सहभागिता रहनेछ। अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, मोडल दीपक घिमिरे, निर्देशक कमल एक्चै मगर र नितिन चन्द, ओएसआर डिजिटलका ओम अग्रवाल, हाईलाइट्स नेपालका जनक तामाङ र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामीलगायत २० भन्दा बढी व्यक्तित्वहरू कार्यक्रममा सहभागी हुनेछन्।
साथीभाइ इन्टरटेन्मेन्टका हरि मोक्तानका अनुसार, दुबईमा हुने यस अवार्ड समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मोक्तानले दुबईमा भव्य सङ्गीत कार्यक्रमसहित अवार्ड समारोहको आयोजना गरिने जानकारी दिएका छन्। कार्यक्रमको व्यवस्थापन तथा डिजाइन बलामी फिल्म इन्टरटेन्मेन्टले गरेको हो।
अध्यक्ष सापकोटाले यस अवार्ड समारोहको उद्देश्य नेपालका कला, संस्कृति, चलचित्र, सामाजिक, र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नु रहेको बताएका छन्। दुबईमा आयोजना हुने यस समारोहमा गैर आवासीय नेपाली सङ्घका पदाधिकारी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, र दुबईमा रहेका नेपाली समुदायका हजारौँ व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।