काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनेहरूको संख्या ६ पुगेको छ। आवेदन दिने अन्तिम दिन बुधवार दुई जना चलचित्रकर्मी अर्जुनकुमार डङ्गोल, र प्रकाश भट्टराईले पनि आवेदन दिएका छन्।
यसअघि दिनेश डिसी, राजेश थापा, करिश्मा मानन्धर र दीपा बस्नेतले आवेदन दिएका थिए।
भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको कार्यकारी अध्यक्ष पदको लागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रावण १६ गते चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १५ दिनको समयावधि दिएर आवेदन खुला गरेको थियो।
अध्यक्ष पदका लागि आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र नेपाली चलचित्र उद्योगमा कम्तीमा १० वर्षको कार्य अनुभव वा चलचित्र क्षेत्रसँग सम्बन्धित उच्च शिक्षा प्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ। यस्तै, कुनै पनि विषयमा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका र चलचित्र उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको अनुभव भएका व्यक्तिहरूलाई पनि योग्य मानिनेछ।
यो पदका लागि आवेदन दिएका मध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ, जहाँ अन्ततः एक जनालाई अध्यक्ष पदका लागि नियुक्त गरिनेछ।