चलचित्र ‘पिताम्बर’मा आर्यन सिग्देलको प्रवेश: के हो भूमिका?



काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘पिताम्बर’ मा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ। श्रोतबाट चलचित्रमा आर्यनले काम गर्ने पक्का भएको खबर थापा पाएसँगै ठुलोपर्दा डटकमले चलचित्रका निर्देशक कृषा चौलागाईंलाई राखेको प्रश्नमा यस कुरालाई पुष्टि गरेकी छन्। अभिनेता सिग्देलले पनि आफूले यस चलचित्रमा काम गर्न लागेको पुष्टि गरे। यद्यपि, चलचित्रको भूमिकाबारे भने गोप्य राखिएको छ।

निर्देशक कृषा चौलागाईँसँग आर्यन

आर्यन सिग्देलको यो चलचित्रमा सहभागिता दर्शकहरूका लागि विशेष चासोको विषय बन्ने पक्का छ। उनी गत जेठ १० गते रिलिज भएको सफल चलचित्र ‘पुजार सार्की’मा आफ्नो उत्कृष्ट अभिनय प्रदर्शन गरेर दर्शक तथा समीक्षकहरूबाट प्रशंसा बटुल्न सफल भएका थिए। ‘पुजार सार्की’को सफलता पछि सिग्देल पुनः फिल्ममेकरहरूको नजरमा परेका छन् र उनलाई विभिन्न ठुला प्रोजेक्टहरूबाट अफरहरू आउन थालेका छन्। ‘पुजार सार्की’को सफलता पश्चात् आर्यनले ‘छक्का पञ्जा ५’मा विशेष भूमिका र ‘के घर के डेरा: घर नम्बर २’मा प्रमुख भूमिकामा काम गरिसकेका छन्।

यसअघि निर्देशक चौलागाईंले प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को प्रमुख पात्र को हो भन्ने प्रश्न उठाएकी थिइन्। अब आर्यन सिग्देलको प्रवेशसँगै यो प्रश्नले अझै रहस्यपूर्ण मोड लिएको छ।

‘पिताम्बर’ को दोस्रो चरणको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुँदैछ। यसको कलाकार लाइनअपमा आर्यन, सौगात र प्रदीपसँगै आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट र विशाल पहारी जस्ता कलाकारहरू रहेका छन्।

‘पिताम्बर’ को पहिलो चरणको छायाङ्कन नवलपरासीको त्रिवेणी धाममा शुभ मुहूर्त गर्दै सुरु भएको थियो। पहिलो तालिकामा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकालकारको छायाङ्कन भएको थियो। अब, आर्यन सिग्देल, प्रदीप खड्का र सौगात मल्ल यसको दोस्रो तालिकामा जोडिँदै छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu