काठमाडौं। भारतीय गायक महेश कुमार र माया उपाध्यायले स्वरबद्ध गरेको कुमाउँ शैलीको गीत ‘फूल हजुरी’को म्युजिक भिडियो नेपालमा छायाङ्कन गरिएको छ। नेपालका ख्यातिप्राप्त निर्देशक प्रकाश भट्टले यस म्युजिक भिडियोको निर्देशन गर्दै नेपालको चित्लाङ क्षेत्रमा यसको सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गरेका छन्। नेपाली अभिनेता नाजिर हुसेन र भारतीय अभिनेत्री श्वेता महराले यस भिडियोमा अभिनय गरेका छन्, जसले भिडियोमा नेपाली र भारतीय संस्कृतिको मिठासलाई एकैसाथ प्रस्तुत गरेको छ।
‘फूल हजुरी’ गीत माशकबीन स्टुडियोद्वारा निर्माण भएको हो। केही समय अघि माशकबीन स्टुडियोको समूह यस म्युजिक भिडियोको निर्माणको लागि भारतबाट नेपाल आएको थियो। चित्लाङको रमणीय वातावरणमा खिचिएको यस भिडियोले नेपाली भूमिमा भारतीय साङ्गीतिक परम्पराको सौन्दर्यलाई उभ्याएको छ अझै यस किसिमको सहकार्यले नेपाली सङ्गीत र भारतको उत्तराखण्ड अन्तर्गत कुमाउनी/गढवाली सङ्गीत सँगको समायोजन विशेष रूपले अगाडी बढ्ने र आगामी दिनमा अझ उत्कृष्ट कामहरूमा सहकार्य गरिने निर्देशक प्रकाश भट्टले जानकारी गराए।
गीतमा गिरीश जिन्नाह र महेश कुमारका शब्दहरू छन् भने सङ्गीत रोहित भण्डारीले तयार पारेका हुन्। यस म्युजिक भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्, जसले गीतको भावनालाई नृत्यमार्फत उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन्। भिडियोको सिनेमाटोग्राफी करण चैँसिरले गरेका हुन् र सम्पादन टेकेन्द्र शाहले गरेका छन्।
‘फूल हजुरी’ उत्तराखण्डको माशकबीन स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। नेपाली भूमिमा छायाङ्कन गरिएको यस गीतले दुवै देशका दर्शकहरूलाई साङ्गीतिक रमाइलोको स्वाद चखाउने अपेक्षा गरिएको छ।
गीतः