निर्माताले नपत्याएपछि आफै निर्माता बनेका थिए जोन अब्राहम



बलीवुड अभिनेता जोन अब्राहमले आफू अभिनयबाट सन्तुष्ट नभएपछि फिल्म निर्माणको यात्रा सुरु गरेको बताएका छन्। एक अन्तर्वार्तामा उनले लामो समयसम्म आफूलाई चलचित्र उद्योगले बेवास्ता गरेको र काम नपाएको अनुभव सुनाएका छन्।

उनले आफूलाई प्रमाणित गर्नका लागि निरन्तर प्रयास गरे र आफूलाई केवल एक्सन हिरो मात्र नभएर बहुप्रतिभाशाली व्यक्तिका रूपमा प्रस्तुत गरे। २०२३ मा जोनले ‘पठान’ चलचित्रमा खलनायकको भूमिका निर्वाह गरे, जुन उनको करियरकै सबैभन्दा ठुलो हिट फिल्म बन्यो। 

एक पोडकास्ट अन्तर्वार्तामा जब जोनसँग उनले निर्माता बन्ने निर्णय किन गरे भनेर सोधियो, उनले भने, “म गरिरहेका चलचित्रहरूबाट सन्तुष्ट थिइनँ। म परिवर्तन चाहन्थेँ। मेरो जीवनमा नयाँ मोड आयो। मानिसहरूले मलाई केवल शारीरिक रूपमा बलियो मानिस मात्र नभएर बुद्धिमान र विविध प्रतिभावान् व्यक्तिका रूपमा बुझ्न थाले। मैले ‘विक्की डोनर’, ‘परमाणु’ र ‘बाटला हाउस’ जस्ता फरक-फरक चलचित्रहरू निर्माण गरेँ।”

यो परिवर्तनका क्रममा उनी खुसी थिए कि थिएनन् भन्ने प्रश्नमा जोनले भने, “हो, म सधैँ खुसी रहन्छु। म कहिल्यै असुरक्षित महसुस गर्दिनँ। ‘परमाणु’ भन्दा अघि, म चार वर्षसम्म कुनै काममा संलग्न थिइनँ। नयाँ-नयाँ कलाकारहरू उद्योगमा प्रवेश गरिसकेका थिए र केहीले मलाई उद्योगबिच बाहिर भइसकेको ठानेका थिए। तर म निरन्तर मिहिनेत गरिरहेँ। म विश्वास गर्छु कि तपाईँ इमानदारीपूर्वक मिहिनेत गर्नुभयो भने, मानिसहरूले तपाईँको प्रयासलाई अवश्य देख्नेछन्।”

जोनको पहिलो निर्माण प्रयास ‘विक्की डोनर’ थियो। चलचित्र निर्माणको अनुभवको बारेमा उनले भने, “विक्की डोनर एकदमै फरक खालको फिल्म थियो। जब मैले स्टुडियोसँग यो फिल्म गर्न चाहेको बताएँ, उनीहरू छक्क परे। चलचित्र सफल भयो र मलाई खुसी छ कि उद्योगले आयुष्मान खुराना जस्तो प्रतिभाशाली कलाकार पायो।” जोनले यस चलचित्रमा आफूले अभिनय नगर्नुको कारण पनि खुलाए, “यो भूमिकाका लागि आयुष्मान नै उपयुक्त थिए।”

अहिलेका दिनमा बलिउडमा निर्माता आफैँ पैसा नलगाउने, बरु स्टुडियोहरूबाट लगानी गर्ने प्रचलन रहेको कुरा पनि उनले उल्लेख गरे। उनले भने, “केवल यशराज फिल्म्सले मात्रै आफ्नो पैसा लगाउन सक्छ। आदित्य चोपडाबाहेक अरू कुनै निर्माताले आफ्नो पैसा आफैँ लगाउन सक्दैनन्।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu