चलचित्र निर्माणमा प्रवेश गर्दै अस्कर कलेज



काठमाडौं। चलचित्र अध्ययनमा लामो समयदेखि सक्रिय अस्कर कलेजले अब चलचित्र तथा सिरिज निर्माणमा पनि हात हाल्ने घोषणा गरेको छ। मङ्गलवार कलेजको २० औँ वार्षिकोत्सवको अवसरमा प्रिन्सिपल रामराजा दाहालले वर्तमान तथा दीक्षित विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले चलचित्र निर्माण गर्ने जानकारी दिएका हुन्।

प्रिन्सिपल रामराजा दाहाल

प्रिन्सिपल दाहालले विद्यार्थीहरूलाई कलेज समाप्त भएपछि चलचित्र निर्माण कहाँ र कसरी गर्ने भन्ने चिन्ता हुने भएकाले, कलेजले उनीहरूको सहजताका लागि सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधनहरू उपलब्ध गराउने बताए। उनले भने, “विद्यार्थीहरूलाई चलचित्र निर्माणमा कुनै अवरोध नहोस् भनेर कलेजले आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्नेछ।”

कलेजको २० औँ वार्षिकोत्सवको मुख्य अतिथि तथा संस्थापक नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा सफलतापूर्वक पार गरेकोमा गर्व व्यक्त गरे। उनले भने, “नेपाली सिनेमाको प्राज्ञिक तथा बौद्धिक चर्चा गर्दा अस्कर कलेजको नाम अब छुटाउनै नसकिने रूपमा स्थापित भइसकेको छ।”

शाहले आफू सधैँ अस्कर कलेजको शुभेच्छुक रहेको र भविष्यमा पनि नयाँ पुस्ताका विद्यार्थीहरूको लागि लाभदायक काम गर्न प्रतिबद्ध रहेको बताए।

वार्षिकोत्सवको अवसरमा कलेजका सञ्चालक समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा १३औँ ब्याचका विद्यार्थीहरूलाई बिदाइ तथा सत्रौं र अठारौँ ब्याचका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो।

कार्यक्रममा पूर्व तथा वर्तमान विद्यार्थीहरूले नृत्य, गायन र कविता वाचन लगायतका विभिन्न प्रस्तुति दिएर माहौललाई रङ्गिन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu