लोकार्नो फिल्म फेस्टिभलमा स्विस मिडियासँग नेपाली चलचित्र ‘शाम्बाला’ टिमको प्रश्नोत्तर



काठमाडौं। स्वीट्जरल्याण्डको प्रतिष्ठित लोकार्नो फिल्म फेस्टिभलमा सोमबार राति नेपाली समयानुसार नेपाली चलचित्र ‘शाम्बाला’को विशेष स्क्रिनिङ हुन गइरहेको छ। फेस्टिभलको पियाजा ग्राण्डे विधामा स्क्रिनिङ हुने यो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चलचित्र र संस्कृतिलाई प्रस्तुत गर्दैछ।

चलचित्रको स्क्रिनिङ अघि फेस्टिभलमा एक पत्रकार सम्मेलनको आयोजना गरियो, जहाँ फिल्मका निर्देशक मीनबहादुर भाम, अभिनेत्री थिन्ले ल्हामो र अभिनेता कार्म उपस्थित थिए। पत्रकार सम्मेलनमा उपस्थित स्विस मिडियाले फिल्मको विषयवस्तु, निर्माण प्रक्रिया र नेपाली सिनेमा उद्योगको भविष्यबारे प्रश्नहरू सोधेका थिए। निर्देशक भामले चलचित्रको कथा नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाबाट प्रेरित भएको र यसले समाजका विभिन्न आयामहरूलाई प्रस्तुत गर्ने बताए। चलचित्रकी मुख्य पात्र पेमाको भूमिका निभाएकी थिन्ले ल्हामोले छायाङ्कन अनुभव बाँड्दै, नेपालको विकट हिमाली क्षेत्रमा काम गर्न गरेको सङ्घर्ष र चुनौतीहरूबारे चर्चा गरिन्।

चलचित्र ‘कालो पोथी’ फेम्ड मीनबहादुर भामको दोस्रो निर्देशकीय कथानक ‘शाम्बाला’ले बर्लिन् फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरेको थियो, जहाँ यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको थियो। 

चलचित्रले एक महिला पेमाको कथा प्रस्तुत गर्छ, जो एक पुरुष र उनका दुई भाइहरूसँग वैवाहिक सम्बन्धमा रहेकी छिन्। जब उनका श्रीमान् व्यापारका लागि गएर फर्किँदैनन्, तब पेमाले गर्भमा रहेको आफ्नो बच्चाको वैधता दिनका लागि आफ्नो श्रीमानको खोजी गर्न थाल्छिन्।

पत्रकार सम्मेलनपछि आयोजित फोटोकलमा निर्देशक र कलाकारहरूलाई फोटोग्राफरहरूले घेरेका थिए, जहाँ उनीहरूले विभिन्न पोजहरूमा तस्बिर खिचाए।

‘शाम्बाला’ भदौ २८ गते नेपालभर प्रदर्शनमा आउँदैछ। तिब्बती र नेपाली भाषामा बनेको यो चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ। 

‘शाम्बाला’ले लोकार्नोमा पाएको अवसरले नेपाली सिनेमा उद्योगको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu