एघार वटा मौलिक तीज गीतको सामूहिक विमोचन



काठमाडौं। नेपाली नारीहरूको विशेष चाड हरितालिका तीजको अवसरमा तयार गरिएका एघार वटा मौलिक तीज गीतहरूको सामूहिक विमोचन सम्पन्न भएको छ।  आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित ऐतिहासिक अवसरमा सबै गीतका सर्जकहरू उपस्थित थिए।

कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले तीजका गीतहरूको मौलिकता र सांस्कृतिक महत्वको कदर गर्दै सबै कलाकारलाई सराहना गरे। उनले सांस्कृतिक पर्व तीजसँग नारीहरूको भावनालाई जोड्ने महत्त्वको कुरा गर्दै सस्तो लोकप्रियता तर्फ नलाग्न आग्रह गरे। पुनले सांस्कृतिक संस्थानले नयाँ पुस्तासम्म सांस्कृतिक सम्पदा पुर्‍याउन विशेष ध्यान दिएको र यस विषयमा थप कदम चाल्न तयारी गरेको पनि जानकारी दिए। 

कार्यक्रममा शान्ति श्री परियारको स्वरमा ‘काली पसम की’, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको ‘सीताका माइती’, शर्मिला गुरुङ र कमला पोखरेलको ‘बाबाको आँगनी’, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइबाको ‘सारी लरक्कै’, शान्ता जिसी र प्रेम सापकोटा सोनुको ‘फेरी आयो तीज’, खुमन अधिकारी र कल्पना पराजुलीको ‘कालो कपाल पारेर फरर’, उमा श्रेष्ठको ‘मैदानैमा ताल’, सुनिता बुढा क्षेत्रीको ‘चेलीलाई माइती’, सरस्वती लामिछानेको ‘सैनाले दिएको ऐना’, अनिता चलाउने र खेम सेन्चुरीको ‘म राम्रो कि उ राम्रो भन्देऊ’, र शान्ति श्री परियारको ‘यसपालिको तीज रमाइलो’गीतहरू सार्वजनिक गरिएको हो।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले कार्यक्रमको अध्यक्षता गर्दै, सामूहिक रूपमा सार्वजनिक भएका तीज गीतका सर्जकलाई बधाई दिए। उनले कलाकारलाई मौलिकता नबिर्सन अनुरोध गरे र भविष्यमा यस्ता कार्यक्रमलाई विशेष स्थान दिने प्रतिबद्धता जनाए। विशिष्ट अतिथि बम बहादुर कार्कीले गीत र संस्कृतिमा आएको विकृतिका बारेमा चर्चा गर्दै, यसका समाधानका लागि अध्ययन गर्दै रहेको बताए। वरिष्ठ गायिका तारा थापाले ५३ वर्ष पुराना गीतहरूको स्मरण गर्दै हालका गीतहरूमा विमर्श गरिन्। शर्मिला गुरुङले पछिल्लो समयमा तीज गीतका नाममा भड्किलो गीतहरूको सार्वजनिक हुँदै गएकोमा दुःख व्यक्त गरिन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले मौलिक गीतहरूको उद्धारमा राष्ट्रिय लोक सञ्चारकर्मीको योगदानको प्रशंसा गर्दै, तीजका अवसरमा भड्किलो गीत गाउनेलाई मिडियाले खबरदारी गर्नुपर्ने धारणा व्यक्त गरिन्। संस्थापक अध्यक्ष गोविन्द गिरीले नेपाली कला संस्कृति बचाउने अभियानमा सधैँ आवाज उठाउँदै आएको बताए र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको जोड दिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu