अमेरिकामा रचना, शान्ति श्री, करिश्मा र ज्योतीको धमाकेदार प्रस्तुति



काठमाडौं। गायिका रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनमा आयोजना गरिएको ‘अब नाच्छ अमेरिका’ कार्यक्रममा दर्शकहरूलाई आफ्नो सुरिलो धुन र मनमोहक प्रस्तुतिले मन्त्रमुग्ध बनाएका छन्। फ्लाई नेपालद्वारा आयोजित यस तीज विशेष कार्यक्रममा करिश्मा ढकाल र ज्योति मगरले पनि आफ्नो आकर्षक प्रस्तुतिबाट दर्शकहरूलाई धित मर्ने गरी नचाएका थिए।

‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलतापछि, आयोजकहरूले नेपाली समुदायलाई झन् नजिक ल्याउने उद्देश्यले ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेका हुन्। यस कार्यक्रमको भव्य सुरुवात अमेरिकाको बोस्टनमा शनिवार, नेपालको राष्ट्रिय गानबाट भएको थियो। कार्यक्रमको मुख्य आकर्षणमा करिश्मा, रचना, शान्ति श्री, र ज्योति मगरको धमाकेदार प्रस्तुतिले बोस्टनका ५ सयभन्दा बढी दर्शकहरूलाई तीन घण्टासम्म मनोरञ्जन प्रदान गर्‍यो।

कार्यक्रमको प्रारम्भ करिश्मा ढकालले ‘हिजो राति सपनीमा’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर गरिन्, जसले माहौललाई ततायो। त्यसपछि गायिका रचना रिमालले आफ्नो प्रस्तुतिलाई अगाडि बढाउँदै परदेशीको मन छुने गीत ‘नमुछे आमा दहीमा टीका’ बाट आफ्नो सुरुवात गरिन्। रचनाले ‘सम्झिने पानी छम्किने’ र ‘मिनरल वाटर’ जस्ता हिट गीतहरूमा दर्शकहरूलाई नचाउँदै कार्यक्रमलाई थप रोचक बनाइन्।

रचनाको पछि, शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’, ‘अरेली काँडैले’, ‘लाहुर जाने रेलैमा’ लगायतका चर्चित गीतहरू गाएर दर्शकहरूको मन जितिन्। उनले ‘बोल माया’ र ‘लौन दाजै’ जस्ता भावुक गीतहरूबाट दर्शकहरूलाई एक भावुक यात्रामा लैजान सफल भइन्।

अन्त्यमा, ज्योति मगरले आफ्नो परिचित शैलीमा प्रस्तुति गर्दै दर्शकहरूलाई ‘ढाडे बिरालो’ र ‘उही मुलाको सिन्की’ जस्ता गीतहरूमा नचाइन्। उनको ऊर्जाशील प्रस्तुतिले कार्यक्रमको समापनलाई स्मरणीय बनायो।

आयोजक विनोद अधिकारीले कार्यक्रमको सफलता माथि चर्चा गर्दै भने, “हामीले परदेशमा रहेका नेपालीलाई आफ्नो घर देशको झल्को दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ। ‘अब नाच्छ अमेरिका’ को यो पहिलो कार्यक्रम नै अत्यन्तै सफल रह्यो, र यसले हाम्रो प्रयासलाई सार्थक बनायो।”

उनका अनुसार, यो टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, पेन्सिल्भेनिया, सिकागो, र क्यालिफोर्निया लगायत अमेरिकाका २१ सहरहरूमा कार्यक्रम गर्ने योजना रहेको छ। करिब दुई महिना लामो यो साङ्गीतिक यात्रा सम्पन्न गरी टोली सेप्टेम्बर ३० मा नेपाल फर्कनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu