‘अवतार ३’ २०२५ को डिसेम्बर १९ मा रिलिज हुने, क्यामरुनले देखाए झलक



डिज्नीको विशाल फ्यान इभेन्ट ‘डि२३’मा हलिउड निर्देशक जेम्स क्यामरुनले आफ्नो चलचित्र अवतारको तेस्रो भाग ‘अवतार: फायर एन्ड एश’ घोषणा गरेका छन्। उनले बताए अनुसार यो फिल्म २०२५ को डिसेम्बर १९ मा रिलिज हुनेछ। क्यामरुनले यो चलचित्रलाई “अपेक्षा नगरेको तर चाहेको कुरा” भनेर वर्णन गरेका छन्।

क्यामरुनले दर्शकलाई ‘कूल कन्सेप्ट आर्ट्स’को झलक देखाए, जसमा पात्रहरू आकाशमा उडिरहेको र आगोले घेरिएको देखाइएको थियो। “यस चलचित्रमा नयाँ संस्कृति, नयाँ सेटिङ, नयाँ जीव र पान्डोराको नयाँ भागहरू देख्न पाइनेछ। यो चलचित्रले पान्डोरा ग्रहको त्यो हिस्सा देखाउनेछ जुन तपाईँले कहिल्यै देख्नुभएको थिएन,” समारोहमा क्यामरुनले भने, “नयाँ फिल्ममा तपाईँले पान्डोराको अद्वितीयता र विविधतालाई अझ गहिरोसँग अनुभव गर्न सक्नुहुनेछ।”

इभेन्टमा ‘अवतार: फायर एन्ड एश’ का मुख्य कलाकारहरू जोई साल्डाना र स्याम वर्थिंगटन पनि उपस्थित थिए।  यो चलचित्र २००९ मा रिलिज भएको पहिलो “अवतार” र २०२२ मा आएको “अवतार: द वे अफ वाटर” को सिक्वेलको रूपमा आउनेछ।

डिज्नीको ‘डि२३’ इभेन्टमा यसबाहेक नयाँ “स्टार वार्स” फिल्म “द म्यान्डालोरियन एन्ड ग्रोगु”, “फ्रीकियर फ्राइडे” र “फ्रोजन” को दुई नयाँ सिक्वेल लगायत थुप्रै नयाँ प्रोजेक्टहरूको पनि घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu