स्क्रिप्टदेखि छायाङ्कनसम्म: कलाकार नरेन खड्कासँग ‘बुलाँकी’को यात्रा



काठमाडौं। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा टोपेन्द्र बिस्टले निर्माण गरेको नेपाली चलचित्र ‘बुलाँकी’ साउन ३२ गते पुनः रिलिज हुँदैछ। लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, सरस्वती खत्री लगायतको अभिनय रहेको छ। यस अन्तरवार्तामा खड्काले चलचित्रको स्क्रिप्ट, छायाङ्कन प्रक्रिया र ग्रामीण जीवनशैलीको सही प्रस्तुतीकरणमा आएका चुनौतीहरूको बारेमा आफ्नो विचार व्यक्त गरेका छन्। खड्काले ठुलोपर्दा डटकमसँग आफ्नो व्यक्तिगत अनुभव र भविष्यका योजनाहरूको बारेमा पनि कुरा गरेका छन्।

१. तपाईँले ‘बुलाँकी’ चलचित्रमा निभाएको भूमिकाबारे बताइदिनुहुन्छ? यस भूमिकालाई कत्तिको चुनौतीपूर्ण ठान्नुभयो?
मैले ‘बुलाँकी’ चलचित्रमा कर्णाली प्रदेशको एक युवाको भूमिका निर्वाह गरेको छु, जो जीविकोपार्जनको निमित्त काला पहाड जान बाध्य हुन्छ। यो भूमिका अत्यन्त चुनौतीपूर्ण थियो किनकि मैले गाउँले चरित्रलाई आत्मसात् गर्नुपर्ने थियो। स्थानीय भाषा, भौगोलिक परिवेश र सांस्कृतिक पृष्ठभूमिलाई सही तरिकाले प्रस्तुत गर्नुपर्ने आवश्यकता थियो। सुरुमा यी सबै कुरा चुनौतीपूर्ण लागे पनि, जब म चरित्रको गहिराइमा प्रवेश गर्न थाले, सबै कुरा क्रमशः सहज र सजिलो हुँदै गयो।

२. कर्णालीको जीवन र रीतिथिति चलचित्रमा देखाउन कस्तो तयारी थियो?
कर्णाली प्रदेशको भाषा, संस्कृति, रीति रिवाज र सुन्दरताको गहिराइलाई समेट्न तयारी गर्न निकै मेहनत गर्नुपर्‍यो। कर्णाली आफैँमा विविधताले भरिएको क्षेत्र हो र त्यहाँको सम्पूर्ण जीवनशैलीलाई एउटा चलचित्रमा समेट्न चुनौतीपूर्ण थियो। तर, हाम्रो टिमले कर्णालीको वास्तविकतालाई पर्दामा उतार्न सम्पूर्ण प्रयास गर्‍यो। हामीले स्थानीय भाषाको अध्ययन, त्यहाँका संस्कार र परम्पराहरूको अनुशीलन र क्षेत्रको सुन्दरताको अभिलेखनमा विशेष ध्यान दिएका थियौँ। यसरी गहिरो अनुसन्धान र निरन्तर अभ्यासले गर्दा हामीले कर्णालीको जीवनलाई केही हदसम्म प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएका छौँ।

३. सुरक्षा पन्तसँग काम गर्न कस्तो अनुभव रह्यो? उहाँसँगको सहकार्यको बारेमा के भन्न चाहनुहुन्छ?
अभिनेत्री सुरक्षा पन्तसँग काम गर्नु वास्तवमै एक उत्कृष्ट अनुभव रह्यो। उहाँ अभिनयको हिसाबले आफैँमा एउटा विद्यालयजस्तो हुनुहुन्छ। उहाँको काम प्रतिको इमानदारिता र मेहनतले मलाई निकै प्रभावित बनायो। सुरक्षाजीले आफ्नो भूमिकामा डुबेर काम गर्नुहुन्छ, जसले गर्दा मैले पनि मेरो अभिनयलाई अझ प्रभावकारी बनाउन प्रेरणा पाएको छु। साथै, उहाँले आफ्नो को-एक्टरप्रति देखाउने सौहार्दपूर्ण व्यवहारले काम गर्ने वातावरण सहज र रमाइलो बनायो। उहाँसँगको सहकार्यले मैले धेरै कुरा सिक्न पाएँ।

४. यो चलचित्र अघिल्लो वर्ष रिलिज भएपछि दुई दिनमै हलबाट हटाइएको थियो। यो घटनाले तपाईँलाई कसरी प्रभाव पार्‍यो?
कलाकारको रूपमा यो घटना मेरो लागि निकै दुखद थियो। चलचित्रमा गरेको मेहनत र लगावलाई दर्शकसमक्ष पर्याप्त रूपमा प्रस्तुत गर्न नपाउँदा निराशा लागेको थियो। नयाँ वर्षमा धेरै चलचित्र एकसाथ रिलिज हुँदा हाम्रो चलचित्रले अपेक्षित शोहरू प्राप्त नगरेको कारणले हटाइएको भन्ने मैले बुझेको छु। साथै, यस निर्णयमा निर्माताको व्यक्तिगत रणनीति र योजना पनि संलग्न रहेकोले यस विषयमा धेरै कुरा गर्नु उपयुक्त ठान्दिन। यो अनुभवले मलाई चलचित्रको वितरण र प्रदर्शनको महत्त्वबारे गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ।

‘बुलाँकी’ चलचित्रको एक दृश्यमा नरेन खड्का

५. ‘बुलाँकी’ पुनः रिलिज हुँदा दर्शकहरूले के नयाँ कुराहरू आशा गर्न सक्छन्?
‘बुलाँकी’ पुनः रिलिज हुँदा दर्शकहरूले केही नयाँ र रोचक अनुभव गर्न पाउनेछन्। यो चलचित्रले विभिन्न चलचित्र महोत्सवहरूमा पाएको सकारात्मक प्रतिक्रिया र प्रशंसा यसको उत्कृष्टताको प्रमाण हो। पहिलो पटक हेर्नुभएका दर्शकहरूको मन जितिसकेको यस चलचित्रलाई पुनः प्रदर्शन गर्दा अझ राम्रो साथ पाउने आशा गरिएको छ। पुनः रिलिजमा चलचित्रमा केही नयाँ गीतहरू थप गरेर यसको सुन्दरतालाई अझ बढाउने प्रयास गरिएको छ, जसले गर्दा दर्शकहरूले यसलाई नयाँ ताजगीका साथ अनुभव गर्न सक्नेछन्। हामीलाई विश्वास छ कि दर्शकहरूले यस पटक पनि ‘बुलाँकी’लाई माया गर्नुहुनेछ।

६. नेपालको चलचित्र उद्योगमा पृथक् कथाहरूको माग कत्तिको छ जस्तो लाग्छ? ‘बुलाँकी’ जस्तो चलचित्रलाई दर्शकहरूले कसरी ग्रहण गर्ने अपेक्षा राख्नुभयो?
कुनै पनि चलचित्र उद्योगले आफ्नो पहिचान बनाउनका लागि पृथक् कथाहरूको विशेष महत्त्व हुन्छ। नेपाली चलचित्र उद्योगले पनि आफ्नै पहिचान निर्माण गर्ने क्रममा अघि बढिरहेको छ र यसका लागि हाम्रो देशमा पाइने अनौठा र विशिष्ट कथाहरू नै प्रमुख छन्। यी कथाहरूले हाम्रो कला, संस्कृति, भाषा, रीति रिवाज, रहनसहन, प्रथा र भौगोलिक विविधताको पहिचान दिन्छन्। चलचित्रको माध्यमबाट हामीले देशभित्र मात्र होइन, विदेशमा पनि हाम्रो पहिचान स्थापित गर्न सक्छौँ।

यदि यस्ता पृथक् कथाहरूलाई दर्शकसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्यौँ भने, त्यसको माग स्वाभाविक रूपमा बढ्नेछ। ‘बुलाँकी’ले पनि केही हदसम्म हाम्रो सामाजिक र सांस्कृतिक परिवेशलाई उजागर गर्ने प्रयास गरेको छ। हामीले आशा गरेका छौँ कि दर्शकहरूले ‘बुलाँकी’लाई सकारात्मक रूपमा ग्रहण गर्नेछन् र यसले नेपाली चलचित्र उद्योगमा पृथक् कथाहरूको महत्त्वलाई अझै प्रोत्साहित गर्नेछ।

७. तपाईँको आगामी परियोजनाहरू के-के छन्? ‘बुलाँकी’ पछि कुन प्रकारका भूमिकामा काम गर्न चाहनुहुन्छ?
इमानदारिताका साथ भन्नुपर्दा, अहिले मसँग कुनै नयाँ चलचित्रहरूमा काम गर्ने औपचारिक सम्झौता भइसकेको छैन। कलाकारको रूपमा म आफूलाई आइपर्ने जस्तोसुकै भूमिकामा पनि निभाउन सक्षम छु। तर, मेरो विशेष रुचि भने मौलिक कथामा आधारित चलचित्रहरूमा नै छ। ‘बुलाँकी’ जस्तो पृथक् र सांस्कृतिक कथाले मलाई आकर्षित गरेको छ र भविष्यमा पनि यस्तै विशिष्ट र गहिरो कथाहरूमा काम गर्न चाहन्छु। यस्ता कथाहरूले हाम्रो समाज र संस्कृतिलाई उजागर गर्छन्।

‘बुलाँकी’ चलचित्रको पत्रकार सम्मेलनपछि नरेन खड्का (दायाँ) साथमा ‘बुलाँकी’का अन्य प्रमुख कलाकारहरू सुरक्षा पन्त र बिराज बिस्ट

८. ‘बुलाँकी’को छायाङ्कन र निर्माण क्रममा सम्झन लायक क्षणहरू कुन-कुन छन्?
यसको छायाङ्कन र निर्माण क्रममा धेरै सम्झन लायक क्षणहरू रहेका छन्। नयाँ ठाउँ, नयाँ परिवेश र स्थानीय भाषा तथा सामाजिक चरित्रको अध्ययन र आत्मसात् गर्न पाउनु एक अद्वितीय अनुभव रह्यो। कर्णाली प्रदेशको सुन्दरतामा डुबेर काम गर्नु सधैँ सम्झन लायक रहन्छ।

छायाङ्कनको क्रममा यातायात लगायतका सुविधाको अभावमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको थियो। ती कठिनाइहरूकै बिचमा हामीले टोलीबिचको सहकार्य, स्थानीय मानिसहरूको सहयोग र परिवेशसँगको हाम्रो घनिष्ठ सम्बन्धलाई गहिरो रूपमा महसुस गर्‍यौँ। यी सबै क्षणहरूले ‘बुलाँकी’को यात्रा अझ विशेष र अविस्मरणीय बनाएको छ।

९. तपाईँलाई ‘बुलाँकी’को स्क्रिप्टमा के कुरा सबैभन्दा बढी मन परेको थियो?
‘बुलाँकी’को स्क्रिप्ट पहिलो पटक पढ्दा मलाई यो एक उत्कृष्ट उपन्यासको अनुभव जस्तो लाग्यो। स्क्रिप्टको कथाले मेरो मनमा गहिरो छाप पारेको थियो। विशेष गरी, चलचित्रले उठाएको परिवेशले मलाई अत्यन्त प्रभावित बनायो। यसले कर्णाली प्रदेशको वास्तविकता र त्यहाँको जीवनशैलीलाई यथार्थपरक तरिकाले प्रस्तुत गरेको छ।

१०. नेपालको ग्रामीण क्षेत्रहरूको जीवनशैलीलाई चलचित्रमा प्रस्तुत गर्न कत्तिको गाह्रो भयो?
नेपालको ग्रामीण क्षेत्र हाम्रो सांस्कृतिक र भौगोलिक पहिचानको महत्त्वपूर्ण हिस्सा हो। ग्रामीण जीवनशैलीलाई चलचित्रमा प्रस्तुत गर्दा केही चुनौतीपूर्ण थिएन, किनकि एक पटक चरित्रलाई सही ढङ्गले विकास गरेपछि त्यसमा पूर्ण रूपमा समाहित हुन सजिलो भयो। गाउँले जीवनको वास्तविकता र सौन्दर्यलाई सही तरिकामा बुझ्नको लागि आवश्यक खोज र अध्ययन गरियो। यसले गर्दा चलचित्रमा ग्रामीण जीवनशैली प्रस्तुत गर्न कुनै विशेष गाह्रो भएन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu