चलचित्र ‘नमेटिने घाउ’को ट्रेलरमा प्रधानमन्त्री ओली, एसिड पीडितलाई न्याय दिने



काठमाडौं। अभिनेता रमित ढुङ्गानाको निर्माण र निर्देशनमा बनेको नेपाली चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर बिहीबार काठमाडौंमा एक कार्यक्रममा सार्वजनिक गरिएको छ। ट्रेलरमा एसिड आक्रमणका पीडितहरूको जीवनको कष्ट र सङ्घर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई न्याय दिने आफ्नो प्रतिबद्धता प्रकट गर्ने दृश्य समावेश गरिएको छ। यसका अतिरिक्त, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीका संवादहरू पनि समावेश छन्, जसमा एसिड आक्रमण गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउने आश्वासन दिइएको छ।

कार्यक्रममा एसिड आक्रमणबाट प्रभावित व्यक्तिहरू मुस्कान खातुन, जेनी खड्का र रामराजा थापाको उपस्थिति रहेको थियो। मुस्कान खातुनले चलचित्रले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै, अरूलाई यस्ता आक्रमणहरूको सिकार नबन्न मद्दत गर्ने आशा राखिन्। जेनी खड्काले समाजको दृष्टिकोण सुधार गर्न अनुरोध गरिन्।

निर्देशक रमित ढुङ्गानाले चलचित्र निर्माणको उद्देश्य एसिड आक्रमणको सिकार बनेका अरूलाई बचाउन र समाजमा सचेतना फैलाउने रहेको बताए। उनले‘नमेटिने घाउ’ले समाजमा महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

यो चलचित्र एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ र एसिड आक्रमणका ३३ जना पीडितहरूको कथा समेटिएको छ। चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, सुरवीर पण्डित, सुनिल कटुवाल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक सहित प्रहरी उपरीक्षक द्वय बालनर सिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जे.आर. शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। 

लेखक शिवम् अधिकारीको कथा र पटकथा साढे दुई वर्षमा तयार गरेका हुन्। चलचित्रको छायाङ्कन नीरज कँडेलले गरेका छन्, सम्पादन बनिश शाहको, सङ्गीत ओम सुनारको र एक्सन किरण दाहालको रहेको छ। ‘नमेटिने घाउ’ भदौ ७ गते नेपालभर रिलिज हुँदैछ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu