चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक, साउन ३२ गतेबाट प्रदर्शनमा



काठमाडौं। यही साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ को ट्रेलर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

गत वर्ष एकसाथ धेरै चलचित्र रिलिज हुँदा ‘बुलाकी’ प्रदर्शनको दोस्रो दिनमै हलबाट हटाइएको थियो। चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने निर्माताको वाचा अनुरूप पुनः प्रदर्शन गर्न लागिएको हो। पहिले भन्दा नयाँ तरिकाले बनाइएको ट्रेलरले कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका सामाजिक र सांस्कृतिक परिवेशलाई प्रस्तुत गरेको छ। यसले चलचित्रलाई नारी प्रधान बताउँदै सामाजिक मुद्दाहरूलाई उजागर गरेको छ।

चलचित्र राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको छ। मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त, अभिनेता द्वय नरेन खड्का र बिराज विष्टसँगै नव कलाकार सरस्वती खत्रीले अभिनय गरेका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘बुलाकी’ ले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए। उनले भने, “कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको यो चलचित्रले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको छ।”

खड्काले ‘बुलाकी’ लाई कर्णाली र देशकै गहना भन्दै यसको सांस्कृतिक महत्त्व रहेको बताए। “यो चलचित्रले संस्कृति, संस्कार, रीतिरिवाज बोकेको पाएँ। कर्णाली नेपाली कला संस्कृतिसँगै नेपाली भाषाको जननी स्थल हो। यस्तो कथा उठान गर्ने चलचित्रलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु,” उनले भने। साथै, खड्काले अभिनेत्री सुरक्षा पन्तको प्रशंसा गर्दै समाजमा नयाँ कलाकारहरूको भूमिका पनि महत्त्वपूर्ण हुनसक्ने बताए।

कार्यक्रममा अभिनेत्री पन्तले ‘बुलाकी’ को दोस्रो इनिङ सफल हुने अपेक्षा व्यक्त गर्दै भनिन्, “लड्ने मान्छे उठेर हिँड्दा मात्र सफलता सम्भव हुन्छ।”

चलचित्रमा शिव ढकालको छायाङ्कन रहेको छ भने लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, र सोनु सेढाइ लगायतका कलाकारको अभिनय रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu