पल-पुजा अभिनित चलचित्र ‘रावायण’को टिजर सार्वजनिक



काठमाडौं। आगामी भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को टिजर सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रवार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो।

टिजरमा चलचित्रका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको टिजरमा दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खल पात्रसँग गरेको द्वन्द्वलाई प्राथमिकतामा राखिएको छ।

चलचित्रमा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रूपमा प्रस्तुत गरिएको छ। टिजरमा नायिका पूजा शर्मा, प्रियङ्का कार्की, निकिता चण्डक पनि फिचर्ड छन्।

प्रेमकथाका चलचित्र निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा चलचित्र ‘रावायण’का निर्देशक हुन्। उनले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ चलचित्रको टिजरमा देखिएको बताए। “अहिले टिजरमा मात्र देखिएको छ। दर्शकले पछि चलचित्रमा अझ बढी हेर्न पाउनुहुनेछ,” उनले भने, “यो चलचित्र मेरा लागि चुनौतीपूर्ण थियो। मैले यो चलचित्रमार्फत आफूलाई परिवर्तन गर्ने कोसिस गरेको छु।”

नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहनु भएका दर्शकका लागि ‘रावायण’को चरित्र नयाँ स्वाद हुने बताए। उनले चलचित्रमा आफ्नो दोहोरो भूमिका रहेको खुलाए। “मेरो लागि यो चरित्र नयाँ हो। चलचित्रमा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु। एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ,” उनले भने, “चलचित्रमा मेरा लागि नेगेटिभ पार्ट चुनौतीपूर्ण थियो। जुन ट्रेलरमा देखिएको छ।”

चलचित्रकी नायिका तथा निर्मात्री पूजा शर्माले अब रोएर चलचित्र नचल्नेमा आफू ढुक्क रहेको बताइन्। “अब रोएर चलचित्र चल्दैन। टिमको राम्रो साथ पाइयो भने मात्र चलचित्र चल्ने रहेछ,” उनले भनिन्।

कलाकार प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे। अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि चलचित्रको पात्र चुनौतीपूर्ण रहेको बताए।

चलचित्रका निर्देशक सुदर्शन थापा हुन्। सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन्। चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन्।

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुली लगायतको अभिनय छ।

चलचित्रमा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, नीरज सिंह, रेवन आरती सिंहको सङ्गीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ।

चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu