निर्देशक विधान कार्कीले क्यानडाबाट सुरु गरे पोडकास्ट, राजदूत पौड्याल पहिलो अतिथि



टोरोन्टो, क्यानडा। नेपाली कला, संस्कृति, चलचित्र, साहित्य, अनि सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि क्यानडाको टोरोन्टोमा सुरु गरिएको मानभी स्टुडियोजले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत पोडकास्ट सार्वजनिक गरेको छ। ‘नेपाली नेक्सस विथ विधान’ शीर्षकको यो पोडकास्टमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालसँग क्यानडा-नेपाल बिचको राजनैतिक, कूटनीतिक, व्यापारिक, शैक्षिक, सांस्कृतिक, परम्परागत एवं विविध द्विपक्षीय सम्बन्धका बारेमा महत्त्वपूर्ण बहस गरिएको छ।

नेपालका कुशल सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक विधान कार्कीले यो पोडकास्ट प्रस्तुत गरेका हुन्। पछिल्लो समय क्यानडामा बसोबास गर्दै आएका कार्की नेपाल म्युजिक भिडियो निर्देशक समाजका संस्थापक अध्यक्ष समेत हुन्। उनले क्यानडामा रहँदै सञ्चार कर्ममा सक्रिय रहेर नेपाल र नेपालीको हितमा हुने विविध पक्षमा काम गर्ने व्यक्तिहरूलाई पोडकास्टमा सहभागी गराउने जनाएका छन्।

पोडकास्टमा राजदूत पौड्यालले नेपालका लागि क्यानडाका राजदूतको रूपमा आफ्नो नियुक्तिपछि यहाँ रहेका सरकारी पदाधिकारीहरू, सरकारी निकायहरू र अन्य कूटनीतिक निकायसँग भेटघाट गरी क्यानडा-नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा सक्रियता देखाएको बताए। नेपाल र क्यानडाबिच लामो समयदेखि मिठासपूर्ण द्विपक्षीय सम्बन्ध रहेको कुरा उनले बताए। नेपालमा क्यानडाको दूतावास स्थापनाका लागि आफूले पनि महत्त्वपूर्ण भूमिका खेलेको र अहिले पनि यसमा सक्रिय रहेको जानकारी दिए।

व्यापारिक सम्बन्धका क्रममा पौड्यालले नेपालबाट सांस्कृतिक एवं परम्परागत वस्तुहरूको आयात र क्यानडाबाट मेसिनरी लगायतका सामानहरूको निर्यातको चर्चा गरे। साथै, क्यानडाले नेपालको हवाई क्षेत्रमा पनि सहयोग गरेको कुरा प्रस्ट पारे। क्यानडामा बसोबास गर्ने नेपाली समुदायले यहाँ सफलतापूर्वक व्यवसाय गर्दै आएको र अझै पनि सम्भावना रहेको बताउँदै, क्यानडाका लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरेको जनाए।

शैक्षिक क्षेत्रको विषयमा पौड्यालले नेपाली विद्यार्थीहरूको उत्कृष्टता र नेपालमा रहेको पाठ्यक्रमको प्रशंसा गर्दै, उचित प्रविधि र पद्धतिका कारण नेपालको शिक्षा क्षेत्र अलिकति ओझेलमा परेको बताए। क्यानडाका विश्वविद्यालयहरू र सम्बन्धित अधिकारीहरूसँग भेटेर नेपालको शैक्षिक सुधारका लागि उपायहरू खोज्न लागिपरेको बताउँदै उनले विद्यार्थीहरूले आफ्ना रुचि र भविष्यका सम्भावनाहरूको आधारमा सही पाठ्यक्रम छनोट गर्नुपर्नेमा जोड दिए।

क्यानडामा रहेका नेपाली सङ्घ सङ्गठनहरूको बारेमा चर्चा गर्दै पौड्यालले क्यानडामा नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न, संरक्षण गर्न र यहाँको नेपाली समुदायलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। नेपाल राजदूतावासप्रति आएका कतिपय गुनासाहरूबारे बोल्दै उनले फोन नउठाउने र समयमा प्रतिक्रिया नदिने समस्याहरू प्राविधिक कारणले भएको र यस्ता समस्याहरू प्रभावकारी ढङ्गले समाधान गर्दै आएको प्रस्ट्याए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu