चलचित्र विकास बोर्डको अध्यक्ष मागिएको सूचनामै त्रुटि



काठमाडौं। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। बुधवार गोरखापत्र दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाली चलचित्र उद्योगमा योग्यता र अनुभव भएका योग्य नेपाली नागरिकहरूलाई आवेदन दिनका लागि आह्वान गरिएको छ।

मन्त्रालयले प्रकाशित सूचनामा अध्यक्ष पदका लागि ३० वर्षदेखि ६५ वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन सक्ने उल्लेख गरेको छ। आवेदकले शैक्षिक योग्यतासँगै नेपाली चलचित्र उद्योगमा विशेष योगदान गरेको अनुभव भएको र चलचित्रको स्थापना, विकास, समन्वय तथा प्रवर्द्धनमा उल्लेखनीय कार्य गरेको आधारमा छनोट हुने सूचनामा जनाइएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा अध्यक्ष पदको लागि योग्य हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र नेपाली चलचित्र उद्योगमा कम्तीमा १० वर्ष कार्य गरेको वा प्रमाणिक संस्थाबाट चलचित्र क्षेत्रसँग सम्बन्धित उच्चशिक्षा प्राप्त गरेको हुनुपर्ने जनाइएको छ। त्यसै गरी, कुनै पनि विषयमा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेको वा नेपाली चलचित्र उद्योगमा कम्तीमा १० वर्ष कार्य गरेको हुनुपर्ने लेखिएको छ।

सूचना अनुसार यो पदको लागि तोकिएको योग्यतामा नै त्रुटिपूर्ण तरिकाले लेखिएको छ। प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका उम्मेदवारले नेपाली चलचित्र उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्नेमा कार्यविधि रहेकोमा सूचनामा १० वर्ष लेखि प्रकाशित भएको हो।

सूचनामा आवेदकले स्वच्छ छवि र आर्थिक अनुशासनमा निष्कलङ्क रहेको स्वयं घोषणा गर्नुपर्ने उल्लेख छ। अध्यक्ष पदका लागि आवेदन दिने इच्छुकहरूले नेपाली भाषामा ४००० शब्दको चलचित्र विकास योजना प्रस्तुत गर्नुपर्ने र योजनामा चलचित्र उद्योगको समग्र विकास, संस्थागत सुदृढीकरण, र सम्बद्ध पक्षहरूसँगको समन्वयका विषय समेट्नुपर्ने सूचनामा जनाइएको छ।

इच्छुक आवेदकहरूले सम्पूर्ण कागजातहरू संलग्न गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान सम्बन्ध शाखा, सिंहदरबारमा बुझाउनुपर्नेछ। मन्त्रालयले प्राप्त सबै आवेदनहरूको मूल्याङ्कनपछि उपयुक्त उम्मेदवारको छनोट गर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu