नारायण खाती: सुन व्यवसायीबाट चलचित्र निर्माता



काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा आफ्नो पाइला चाल्न र सुन व्यवसायलाई प्रेरणा दिनका लागि, नारायण खातीले फिल्म ‘नम्बरी सुन’ निर्माण गरेका छन्। पेसाले सुन व्यवसायी रहेका खातीले, साउन २५ गतेबाट रिलिज हुने यो फिल्मबाट निर्माता रूपमा डेब्यू गर्दैछन्। यस फिल्ममा उनले नायक गौरव पहाडीको बुवाको भूमिकामा अभिनय पनि गरेका छन्।

नारायणले आफूले चलचित्रको अवधारणा तयार पारेको बताउँछन्। ‘यो फिल्ममा सुनको ऐतिहासिक पृष्ठभूमि छ, परापूर्व कालमा सुन कसरी विकसित भयो र कालीगढी पेसा कसरी अगाडि बढ्यो भन्ने कुरालाई चलचित्रमा प्रस्तुत गरेका छौँ,’ नारायण भन्छन्।

फिल्म ‘कोहिनुर’ मा सानो भूमिकाबाट आफ्नो अभिनय यात्रा सुरु गरेका नारायणले ‘नम्बरी सुन’मा वास्तविक कथालाई केन्द्रबिन्दुमा राखेका छन्। ‘फिल्ममा काजीकी छोरी र कालीगढको छोराको प्रेम कथालाई पनि प्रस्तुत गरेका छौँ,’ नारायण बताउँछन्, ‘फिल्ममा कुनै पनि बनावटी कुरा छैन, सबै वास्तविक कथा हो।’

कलाकारितामा सानैदेखि रुचि राख्ने नारायणको आफ्नै युट्युब च्यानल पनि छ जहाँ उनले निर्माण गरेका सिरिज उपलब्ध छन्। निर्देशक राजु गिरीसँग सिरिजको काम गरिरहँदा नारायणको भेट भएको थियो। ‘मेरो सिरिजमा उहाँले निर्देशन गर्नुहुन्थ्यो, फिल्म बनाउन चासो देखाएपछि राजुजीसँग सहकार्य गर्ने निर्णय गरेँ,’ नारायणले भने।

एउटै फिल्ममा निर्माता र कलाकार दुवै भूमिका निभाउँदा चुनौती अनुभव भएको नारायण बताउँछन्। ‘यो मेरो पहिलो फिल्म हो, दुवै भूमिका निभाउँदा धेरै तनाव भयो, तर काममा कोही पनि कलाकारले सम्झौता गरेका छैनन्,’ नारायणले भने।

नारायण अझै फिल्म बनाउन चाहन्छन् र ‘नम्बरी सुन’ले लगानी उठाउनेमा आशावादी छन्। ‘फिल्मले लगानी रिटर्न गरेपछि मात्र अरू फिल्म बनाउने योजना छ,’ उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu