चलचित्र ‘शाम्बाला’को नेपाल रिलिज भदौ २८ घोषणा, निर्देशक भन्छन्, “बाँचुन्जेल युट्युबमा राख्दिन”



काठमाडौं। ‘कालो पोथी’ फेम्ड निर्देशक मीन भामको बहु प्रतीक्षित चलचित्र ‘शाम्बाला’को नेपाल रिलिज मिति घोषणा गरिएको छ। शुक्रवार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा यो चलचित्र भदौ २८ गतेबाट नेपालमा प्रदर्शन हुने जानकारी गराएको छ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट हुने पहिलो नेपाली फिचर चलचित्र हो। साथै, चलचित्र स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलको ७७औँ संस्करणमा पनि पियाजा ग्राण्डे विधामा छनोट भएको छ। यी दुई ठुला फेस्टिभलमा छनोट हुनु यो चलचित्रको गुणस्तरमाथि विश्वास गर्न सकिने ठुलो आधार हो।

निर्देशक मीन भामले यो चलचित्र युट्युबमा कहिल्यै नआउने जनाए। उनले भने, “मेरो चलचित्र युट्युबका लागि भनेर बनाएकै होइन। मेरो पहिलो चलचित्र ‘कालो पोथी’ पनि युट्युबमा छैन र ‘शाम्बाला’ पनि युट्युबमा आउने छैन। ओटीटी प्लेटफर्ममा सानो स्क्रिनमा हेर्नुपर्ने हुन्छ। त्यहाँ नराख्ने भन्ने त सम्भव नहोला तर युट्युबमा आउँदैन। म भन्छु, चलचित्र सकेसम्म हलमै हेरौँ।” उनले चलचित्र बन्नको लागि बहुपक्षीय मेहनत हुने भन्दै चलचित्र भनेको हलमै हेर्न बनाइने जिकिर गरे।

‘शाम्बाला’को निर्माण बजेट १४ करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ। हिमाली भेगको छायाङ्कन, कथामा रिसर्च तथा प्रोडक्सनको काम नेपाल बाहिर गरेकाले बजेट बढी लागेको बताइएको छ। निर्देशक भामले भने, “हामीले यो चलचित्र निर्माणको बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौँ। तर वास्तवमा सबै हिसाब गर्दा करिब १५ करोड रुपैयाँ लागेको छ। अझै पनि चलचित्रलाई ‘इनह्यान्स’ गर्ने काम भइरहेको छ।”

‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका रहेको छ। यसमा उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा रहेको छ। मीन भाम र अविनाशविक्रम शाहले लेखेको यसको स्क्रिप्ट विश्वका विभिन्न फेस्टिभलमा समेत छनोट भइसकेको छ। 

निर्देशक मीनले हालसम्म विश्वका २९ देशमा हल रिलिजको टुङ्गो लागेको बताउँदै ४० देशमा थिएट्रिकल अधिकार बिक्री भइसकेको बताए। उनले सबैतिर रिलिज भइसकेपछि मात्र नेटफ्लिक्समा जाने लक्ष्य रहेको बताए।

नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्ने यो चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu