काठमाडौं। गत जेठ १० गते रिलिज भएको चलचित्र ‘पुजार सार्की’बाट दर्शकमाझ फर्किएका आर्यन सिग्देल पुनः फिल्ममेकरको नजरमा पर्न थालेका छन्। ‘पुजार सार्की’ सुपर हिट हुनु र यसमा सिग्देलको अभिनयको प्रशंसा हुँदा मेकरहरू उनीप्रति आकर्षित छन्।
आफैले चलचित्र बनाउने तयारी गरिरहेका आर्यनलाई हाल आधा दर्जन चलचित्रको अफर आएको बुझिएको छ। ‘पुजार सार्की’ पछि आर्यनले ‘छक्का पञ्जा ५’मा समेत विशेष भूमिकामा अभिनय गरिसकेको खबर छ।
यसैबिच, छायाङ्कनको तयारीमा रहेको नेपाली चलचित्र ‘के घर के डेरा: घर नम्बर २’बाट पनि आर्यनलाई प्रमुख भूमिका मध्ये एकको लागि अफर आएको छ। विश्वस्त स्रोतका अनुसार उनलाई यो चलचित्रमा ‘घरबेटी’को भूमिकाको लागि अफर गरिएको छ। यद्यपि उनले सम्झौता भने नगरेको बुझिएको छ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रमा यसअघि खगेन्द्र लामिछाने र निश्चल बस्नेतले अभिनय गर्ने पक्का भइसकेको छ। यी दुई कलाकार बाहेक थप चार जना कलाकारहरूको अभिनय रहने निर्देशकले बताएका थिए।
यो चलचित्रलाई चर्चित लेखक बुद्धि सागरले लेखेका हुन्। सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्र यसै वर्ष रिलिज हुने बताइएको छ।