खेमनाथ दाहालको भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ लोकार्पण



काठमाडौं। स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह लोकार्पण गरिएको छ। शनिवार काठमाडौंमा साहित्यिक पत्रकार सङ्घको आयोजनामा भएको एक विशेष समारोहबिच कृति लोकार्पण गरिएको हो।

समारोहमा सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट अतिथि विशिष्ट कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, समालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञेश्वर निरौला, गीतकार समाजसेवी शोभित उप्रेती, प्रा.डा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतको उपस्थिति थियो। गीतकार/निर्देशक गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रमको समारोहमा मिलाप प्रकाशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए।

कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उनले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चलाउँदै आएको बताए। उनले भने, “स्रष्टा दाहालको मूल विधा काव्य हो तर उहाँले अन्य विधामा पनि कलम चलाउँदै आउनुभएको छ। त्यसैको पछिल्लो रूप सिर्जनामा दृष्टि हो।”

समालोचक प्राडा.कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘श्वेतपत्र’ महाकाव्यले एउटा उचाइ प्राप्त गरेको बताउँदै पाठकले उहाँसँग त्यस्तै अन्य कृतिको अपेक्षा गरेको बताए। वरिष्ठ समालोचक प्रमोद प्रधानले स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उनको नियात्रा ‘यात्राको सिकर्नीमा’मा आफूले समीक्षा लेखेको सम्झना गरे।

विशिष्ट कलाकार मदनदास श्रेष्ठले भाषा, साहित्य कला र संस्कृतिले हामीलाई जीवन्त बनाइ राख्ने बताउँदै यसको संरक्षण, संवर्द्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राखे।

प्रमुख अतिथि वरिष्ठ इतिहासविद् केसीले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा राखे। “देशको राजनीतिक परिस्थिति राम्रो हुँदा मात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना साधनामा तल्लीन रहेका छन् तर राज्य निरीह छ । हामी सबैले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । देशको मुख्य समस्या भनेको राइट म्यान राइट प्यालेस नहुनु हो,” उनले बताए।

३५६ पेजको ‘सिर्जनमा दृष्टि’मा पुण्यप्रसाद शर्मा (सिक्किम)को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्बल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुङ्गाना/निरौला (अमेरिका)को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका)को ‘अँगालो भरिको अनुभूति’, डा. डीआर उपाध्यायको ‘कसुर’, मिलन शाह शङ्करको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत)को ‘ऐना’, अनु शाह (अमेरिकाको) ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका)को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका)को ‘जीवन मृत्यु’जस्ता १६ कृतिका भूमिका समावेश छन् । कृतिको सम्पादन रमेश दाहालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu