चलचित्र ‘लाज शरणम्’को ब्रान्डिङ र मार्केटिङको लागि विज्ञापन एजेन्सीसँग सम्झौता, आगामी महाशिवरात्रिमा रिलिज हुने



काठमाडौं। समय समयमा नेपाली चलचित्र उद्योगमा एउटा गुनासो हुने गर्छ, ‘चलचित्रको ब्रान्डिङ र मार्केटिङ पुगेन। यसको लागि दक्ष जनशक्ति नै नेपालमा छैन। भएकाले पनि चासो दिँदैनन्।’ यो गुनासो प्राय: असफल फिल्ममेकरहरूले आफ्नो असफलतापछि सुनाउने गर्छन्। उनीहरूले बजार प्रवर्धनको पूर्व तयारी गरेका हुँदैनन् तर दोष भने बजारीकरणलाई नै दिने गर्छन्।

छायाङ्कनको बेला अनावश्यक खर्च गर्न नहिचकिचाउने मेकरहरू रिलिजको बेला भने उपयुक्त मार्केटिङको तयारीमा कहिल्यै बस्दैनन् तर, जब असफलताले खल्ती रित्तिन्छ तब अरूलाई दोषारोपण गरी आत्म सन्तुष्टि लिन्छन्। नेपाली चलचित्रको यस्तो हविगत देखिएको समयमा शुक्रवार घोषणा भएको नेपाली चलचित्र ‘लाज शरणम्’ले भने नेपाली चलचित्रको इतिहासमा सम्भवतः पहिलो पटक विज्ञापन एजेन्सीसँग ब्रान्डिङ र मार्केटिङको सम्झौता गरेको छ। यो चलचित्रको सबै मार्केटिङ एडी रिलिज नामक एजेन्सीले गर्ने गरी शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सम्झौता गरिएको हो।

यो चलचित्रलाई जेपिटी (जिग्री पाँडे टिम) क्रियशन प्रा.लि.को ब्यानरमा नबिन श्रेष्ठ र राम नरेश शाहले निर्माण गर्दैछन्, जसमा चर्चित हास्य टेलि शृङ्खला ‘सक्कीगोनी’का कलाकार ‘जिग्री ब्रो’ अर्थात् कुमार कट्टेलले लेखन तथा निर्देशन गर्दैछन्। कट्टेलको जन्मदिनको अवसर पारेर‘लाज शरणम्’को औपचारिक घोषणा गरिएको थियो।

कार्यक्रममा पहिलो चरणमा ‘सक्कीगोनी’ टिमबाट केही कलाकार र सो शृङ्खला बाहिरबाट अन्य केही कलाकार मात्र घोषणा गरिएको छ। अन्य कलाकारहरू भने केही समयपछि सार्वजनिक गर्ने निर्देशक कट्टेलले बताए। यसमा ‘सक्कीगोनी’का तर्फबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) र कमलमणि नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी कार्यक्रममा गराइयो भने माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको पनि अभिनय रहने घोषणा गरियो। कार्यक्रममा १२ वर्षपछि चलचित्र अभिनयमा फर्किन लागेका श्रेष्ठको परिचयात्मक श्रव्य दृश्य प्रदर्शन गरिएको थियो। चलचित्रका डिओपीको रूपमा सुदीप बराल घोषणा गरियो।

सो कार्यक्रममा लामो समयदेखि नेपाली सञ्चार माध्यम र टेलि शृङ्खलाहरूमा एजेन्सीको रूपमा लगानी गर्दै आएको मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्देशक कट्टेलले यो चलचित्र यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रिको अवसर पारेर प्रदर्शन ल्याउने समेत घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu